कञ्चनपुर : वि सं २०७४ मा ठेक्का सम्झौता भई सुरु भएको कञ्चनपुर दैजी जोगबुढा सडक खण्डको काम सुस्त गतिमा अघि बढी रहेको छ । जिल्लाको बेदकोट नगरपालिकाको छेलाबाट १३ किलोमिटर सडक निर्माणमा विलम्ब भएको जिल्लास्थित भौतिक पूर्वाधार विकास कार्यालयले स्वीकार गरेको छ।
कञ्चनपुरबाट डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लाकाे यात्राका लागि दूरीका हिसाबले नजिक पर्ने उक्त सडक खण्ड निर्माण विगत दुई वर्षयता कछुवा गतिमा छ। नार्गाजुन कन्स्ट्रक्सनले २१ करोडमा निर्माणको जिम्मेवारी पाए पनि काम भने कछुवा गतिमा भइरहेको उक्त कार्यालयका प्रमुख योगेन्द्रबहादुर अधिकारीले जानकारी दिए।
अधिकारीले भने, “काम बन्द नै छैन, तर गति भने निकै सुस्त छ। १३ किलोमिटरमध्ये चार–पाँच किलोमिटर सडक निर्माण अझै उस्तै छ। केही वर्षअघि सडकसँगै पहिरोले नाली, तारजालीलगायत संरचना भत्काएपछि सडकको यो अवस्था भएको हो।”
उनका अनुसार सात-आठ किलोमिटर सडक कालोपत्र भए पनि पहिरोले धेरै ठाउँमा क्षति पुर्याएको छ। दैजीबाट कञ्चनपुरको सिमाना पर्ने लिप्नासम्म २१ किलोमिटर सडकखण्डको निर्माणमा सरोकारवाला निकायले चासो नदेखाएको बेदकोट नगरपालिका ३ का स्थानीयकाे गुनासो रहेको छ ।
बेदकोट नगरपालिका-३ का वडाध्यक्ष मोहनबहादुर गुर्धामीले सडक स्तरोन्नतिका लागि पटक-पटक पालिकास्तरबाट ताकेता हुँदै आएको समेत बताए । “प्रदेश सरकारको पनि ध्यानाकर्षण गराएका थियौँ, काम अघि बढाउँछौँ भनेर ठेकेदारका मान्छे भन्छन् मात्रै, गर्दैनन्,” उनले भने । कञ्चनपुरको महेन्द्रनगर, अत्तरिया हुँदै डडेल्धुरा पुग्न एक सय ६५ किलोमिटर दूरी पार गर्नुपर्छ भने महेन्द्रनगरबाट दैजी–जोगबुढा हुँदै त्यहाँ ६५ किलोमिटर पार गरेपछि पुगिन्छ।