बडीकेदार : बडीकेदार गाउँपालिका डोटी जिल्लाको दक्षिणी भेगमा अवस्थित छ । पछिल्लो समय कैलालीको चुरे गाउँपालिकाको सहजपुर हुँदै डोटीको बडीकेदार गाउँपालिकाको गाँडेबाजसम्म करिब ५० किलोमिटर ’सहजपुर–बोगटान’ सडक कालो पत्रे भएपछि यहाँका मानिसलाई निकै सहज तुल्याएको छ । ’सहजपुर–बोगटान’ पूर्ण रूपमा कालो पत्रे भएर हस्तानतरण भैसकेको भने अझै छैन् । उसो त सडक सञ्जाल विकासको मेरूदण्डको रूपमा लिइने गरिन्छ । उक्त सडक मात्रै नभई यहाँ गाउँ–गाउँमा कृषि सडक समेत पुगेका छन् । जसले गर्दा कृषकलाई निकै राहत मिलेको छ । त्यति मात्रै नभएर यस गाउँपालिकाका हरेक स्थानमा विद्युत लाइन पनि विस्तार हुदैछ । जसले गर्दा आम मानिसको दैनिक जनजीवन सञ्चालन गर्न झनै सहज तुल्याउने छ । तर, विजुली बलेको भने छैन् ।
केही वर्ष अघि उक्त ’सहजपुर–बोगटान’ सडक पनि एउटा ग्रामीण सडक जस्तै थियो । वर्षातको समयमा गाडी नचल्ने अन्य समयमा मात्रै गाडी चल्ने गर्दथ्यो । जसले गर्दा बडीकेदार गाउँपालिकाका मानिसलाई मात्रै नभई बोगटान फुड्सिल गाउँपालिका विभिन्न स्थानका मानिसलाई समेत आवत जावतमा समस्या हुने गरेको थियो । तर, अचेल उक्त समस्याको समाधान भएको छ । सधैँ गाडी चल्ने भएपछि आम मानिसको दैनिक जीवनमा त सहजता ल्याएको छ नै किसानी पेसामा लागेका मानिसको जीवन नै परिवर्तन गरि दिएको छ । हाल यहाँका मानिस व्यवसायी कृषि पेशामा आवद्ध भएका छन् । यस्तैमा एक हुन् बडीकेदार गाउँपालिका वडा नं ४ रनुकाँडाका देउचे ताडी।
उनले २०७८ मा घरेलु तथा साना उद्योग कार्यालय दिपायलमा ’देउचे कृषि तथा पशुपन्छी फार्म’ दर्ता गरे । त्यस यता उनले जिल्लाको कृषि शाखा र गाउँपालिकाबाट कृषिका थुप्रै अनुदान पनि हात पारे । त्यसपछि उनी निरन्तर व्यवसायिक कृषि पेशामा आवद्ध छन् । विशेषतः ताडी हाल बेमौसमी तरकारी खेतीमा निकै सक्रिय देखिन्छन् । उनले अनुदानमा दुई ओटा प्लास्टिक घर(पोली हाउस) निर्माण गरेका छन् । जसमा बेमौसमी खेती गर्ने गरेका छन् । गाउँपालिका तथा कृषि शाखाबाट अनुदानमा पाइने बीउ विजनका साथै आफैले पनि बजारबाट किनेर बेमौसमी तरकारी खेती गरी रहेका छन् । यहाँ साउन देखि मात्रै मौसमी रूपमा काँक्रा पाइने गर्दछन् तर उनले यस पटक २०८० को फागुन देखि काँक्रा रोप्न सुरु गरे । ’फागुन देखि लगाउन सुरु गरेको राम्रै फालेका थिए, मान्छेले माग गरे अनुसार पुर्याउनै सकिएको छैन्,’ उनले भने, ’घरमै पनि आउँछन् काउले, खडेउली बजारसम्म पुर्याएको छु । आफैले बोकेर लग्न मात्रै बेर हो, त्यहाँ पुर्याएपछि उत्ति खेर नै सकि हाल्छन्, गाउँमै पनि किन्छन् ।’

यस क्षेत्रमा पहिलो पटक च्याउ खेती गरेका देउचे ताडी, च्याउ उमारेपछि फोटो खिच्दै
उनले पहिलो पटक यस ठाउँमा च्याउ खेतीको पनि सुरुवात गरे । जिल्ला कृषि शाखाबाट १ सय पोका बीउ ल्याए पनि आफूले ६० पोका मात्रै लगाएर सुरु गरेको उनी बताउँछन् । सुरुवात मात्रै भएकाले यस पटक धेरै नलगाएको उनको भनाइ थियो । ’जिल्ला कृषि शाखाका हाकिमले एक दिन यसरी यसरी लगाउनु होला भनेर सिकाई दिएका थिए बाँकी आफैले गरेर थाहा पाएको,’ उनले भने, ’यस पटक पुसबाट चैतसम्म लगभग ५/६ हजार जतिको च्याउ बिक्री गरे । आगामी दिनमा अब धेरै लगाउनु पर्ला । उब्जाउन सक्नु पर्यो बजारको अभाव छैन सबै ठाउँमा माग हुन्छ ।’
च्याउ मात्रै नभई उनले बन्दा गोपी, टमाटर, लौका, बडी, आलु लगायतका तरकारी फलाउने गरेका छन् । स्थानीय स्तरमा खपत भए जति यतै बिक्री गर्ने र बाँकी रहेको कैलालीको सुखड, लम्की, धनगढी लगायतका ठाउँमा पठाउने गरेको उनी सुनाउँछन् । तरकारी खेतीमा मात्रै देउचे निर्भर छैनन् । उनले हाल जिल्ला कृषि शाखाको अनुदानमा १ सय बुटा किभि पनि रोपेका छन् । त्यस्तै ६०÷७० बुटा सुन्तला, ४० बोट टिमुर, ४३ बोट कागती पनि रोपेका छन् । गत वर्ष ३५ हजारको सुन्तला, १० हजारको टिमुर बेचेको उनको भनाई छ। यस्तै यहाँका हरेक किसानले जस्तै उनले पनि अदुवा खेती गर्छन । उसो त यस क्षेत्रका लागि अदुवा प्रमुख व्यवसायिक खेती जस्तै छ । यस क्षेत्रमा अदुवा खेती नगर्ने सायदै मान्छे नहोलान् । देउचेले गत वर्ष मात्रै १ लाखको अदुवा बिक्री गरेको कुरा सुनाए ।
देउचे जस्तै सोही ठाउँका दान बहादुर ताडी पनि व्यवसायिक कृषि पेशामा आवद्ध भएका छन् । विगतका दिनमा १०,१२ वर्ष भारतका विभिन्न ठाउँमा बिताएका उनी अचेल भने आफ्नै गाउँ घरमा कृषि गरिरहेका छन् । उनले पनि गत वर्षदेखि मौसमी तरकारीसँगै बेमौसमी तरकारी खेतीको पनि सुरुवात गरेका छन् । बेमौसमी तरकारीको माग बजारमा अझ धेरै हुने गरेको उनी सुनाउँछन्। दान बहादुरले पनि पोली हाउस बनाएर बेमौसमी तरकारी खेती गरि रहेका छन् । मौसमी तथा बेमौसमी तरकारी खेती, अदुवा, टिमुर, सुन्तलाबाट वार्षिक करिब ३ लाख भन्दा बढीको आम्दानी गर्ने गरेका छन् । हाल उनले करिब ६ सय बोट सुन्तला रोपेका छन् । बेमौसमी तरकारी खेती बाटै करिब ३०,३५ हजार भन्दा बढी आम्दानी गरिरहेका उनी किभी खेतीमा पनि सक्रिय छन् । पहिला कृषि ज्ञान केन्द्र डोटीको ७५ प्रतिशत अनुदानमा ५० बोट किभी रोपेका उनले हाल ज्ञान केन्द्रकै सतप्रतिशत अनुदानमा पुनः ५० बोट किभी रोपेका छन् । राम्रो उत्पादन गर्न सके बजारमा किभीको माग रहेको छ । आफ्नै बारीमा अलिक बढी मिहिनेत गर्न सके यही थुप्रै सम्भावना रहेको उनको बुझाई छ ।

दान बहादुर ताडी गरेको किबी खेती
देउचे र दान बहादुर जस्तै कृषि पेसालाई नै प्रमुख व्यवसाय बनाएर अगाडि बढी रहेका व्यक्ति हुन रनुकाँडाकाकै देउ सिं ताडी । उनी पनि विगत देखि नै कृषि पेसामा रमाई रहेका छन् । कृषिबाट उनले राम्रो आम्दानी पनि गरी रहेका छन् । विशेष गरी उनी अदुवा खेतीमा, सुन्तला खेती र बाख्रा पालनमा नै रमाई रहेका छन् । उनले २५,२६ भन्दा धेरै बाख्रा पालन गर्दा १ सयभन्दा धेरै सुन्तला रोपेका छन् । अदुवा उनको प्रमुख व्यवसायको रूपमा अगाडि रहेको छ । विगतमा पनि उनले गाउँमा सबै भन्दा बढी अदुवा उत्पादन गर्ने गरेका थिए । तर, अदुवाले बजार भने राम्रो पाउन सकेको छैन् । ’अदुवा खेतीमा वार्षिक आम्दानी कति हुन्छ भन्ने ठ्याक्कै भन्न सकिन्न,’ उनी भन्छन्, ’बिक्री गर्ने बेला कुनै समय मूल्य नै नपाउने हुन्छ कुनै समय राम्रै मूल्य पाएको बेला राम्रै आम्दानी हुन्छ । कुनै बेला कौडीको भाउमा पनि अदुवा बिक्री गर्नु पर्ने स्थिति आउँछ ।

बारीमा अदुवा गोडमेल गर्दै देउ सिं ताडी
उनीहरू जस्तै रनुकाँडाकामा हाल सबै युवा कृषिलाई नै प्रमुख आधार बनाएर काम गरी रहेका छन् । सबैको बारी भरी अदुवा छ । कम्तीमा १ सय बोट भन्दा कम सुन्तला कसैले रोपेका छैनन् । २० भन्दा कम बाख्रा पनि कसैले पालेका छैनन् । सबैले तरकारी खेती गरिरहेका छन् । यस्तै अब वर्षातको समयमा थुप्रै काँक्रा रोपेका छन् । यहाँका तरकारी कैलालीका विभिन्न ठाउँमा पठाउने गर्दछन् ।
यस ठाउँका किसानलाई ’द अर्गानिक भ्याली’ नामक संस्थाले अदुवा उत्पादनलाई प्रोत्साहन गरी रहेको छ । उसले आफ्नो निश्चित मूल्य राखेर अदुवा खरिद गर्ने गरेको छ । तर कृषकहरु उसले दिने मूल्यमा सन्तुष्ट भने छैनन् । ’अर्गानिक भ्यालीले कृषकबाट अदुवा त किनी रहेको छ तर राम्रो मूल्य भने दिएको छैन्, ’सुनौलो किरण कृषक समूहका पूर्व अध्यक्ष नरेन्द्र बहादुर ताडी भन्छन्, ’गत वर्ष बजारमा राम्रो हुँदा पनि उसले ९० रुपैयाँ पस्सेरीमा मात्रै किन्यो । हामीले अलिक बढीमा किनी दिनु भन्दा पनि उसले आफूहरु दिन नसक्ने तर बजारमा मूल्य नहुँदा पनि हामी यही यो भन्दा अलिक राम्रो मूल्य दिन्छौँ भन्यो । तर उसले आफ्नो निश्चित मूल्य मात्रै राखेर किनी रहेको छ ।’
हाल कृषि ज्ञान केन्द्रले गाउँमा २० ओटा पोली हाउस निर्माण गरेको छ । जसमा कृषकले बेमौसमी तरकारी उत्पादन गरी रहेका छन् । त्यसै गरी ’जीआईजेड’ नामक संस्थाले पनि गाउँमा दुई ओटा प्लास्टिक घर र दुई ओटा गँड्यौला मल उत्पादनको लागि अनुदान दिएको छ । गाउँमा हरेक कुराहरूको परीक्षण गर्दै खेती गरी रहेका छन् यहाँका किसान । तर, बजारीकरणको अभाव रहेको छ । ’गाउँपालिकाले उत्पादनका लागि थुप्रै अनुदान दियो उत्पादनका लागि कुनै कसरत बाँकी राखेन तर बजारीकरणका लागि कुनै पहल गरेन,’ नरेन्द्रले भने, ’गाउँपालिकाले एउटा निश्चित नियम बनाएर बजारीकरणको सहजता गरी दिए सजिलो हुन्थ्यो । त्यस्तै एउटा सित भण्डार निर्माण गरेको हामीलाई अदुवाको बीउ भण्डार गर्न र पछि गएर बिक्री गर्न पायो भने महङ्गो मूल्यमा बिक्री गर्न सके बीउ बाट नै एक डेढ लाख भन्दा बढीको बीउ बिक्री यहाँका किसान गर्ने थिए ।’




