
गर्मी बढेपछि घोडाघोडीका संस्थागत विद्यालयले चार दिनका लागि गर्मी बिदा दिएका छन्। संस्थागत विद्यालय घोडाघोडी नगर समितिको १६ गतेको निर्णय अनुसार समितिले नगर भित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयलाई गर्मी बिदा दिएको हो।
गर्मीका कारण जनजीवन कष्टकर भएको र बालबालिकामा असर परेको भन्दै जेठ २० गतेसम्मका लागि विद्यालय बिदा दिइएको जनाएको छ । संस्थागत विद्यालय नगर समितिका अध्यक्ष कुल प्रसाद भट्ट र सचिव तुलाराम आचार्यद्वारा प्रकाशित सूचनामा बर्खे बिदाबाट कट्टा हुने गरी नगर क्षेत्रका संस्थागत विद्यालयमा बिदा दिइएको उल्लेख छ ।
यता नगरपालिकाले भने नगर क्षेत्रका विद्यालय बिहान सञ्चालन गर्ने निर्णय गरेको छ। जस अनुसार नगरपालिका भित्रका सामुदायिक विद्यालय बिहान सञ्चालन भएका छन्। 

पछिल्ला केही दिनदेखि बढ्दै गएको गर्मीको कारण जनजीवन कष्टकर बन्दै गएको छ । बिहान सबेरैदेखि सुरु हुने गर्मी मध्याह्नसम्म ४४ डिग्रीसम्म तापक्रम पुग्ने गरेकाले जनजीवनसमेत प्रभावित बनेको छ ।








प्रकाशित :- २०८१ जेष्ठ १७, गते बिहीबार