कैलाली: वर्तमान एमाले- माओवादी सहितको सत्ता समीकरण पुरै अवधिभरि जाने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाबी गरेका छन् ।
आइतबार धनगढी एयरपोर्टमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले बाहिर बजारमा यो गठबन्धन लामो समय नटिक्ने भन्दै भइरहेका चर्चा-परिचर्चालाई हल्ला मात्रै भएको बताए ।
‘बाहिर बजारमा विभिन्न चर्चा परिचर्चा भएपनि त्यस्तो केही छैन, पूरै अवधि जान्छ अहिलेको समीकरण”, प्रधानमन्त्री प्रचण्डले भने ।
उनले प्रदेशमा सरकार बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको पनि बताए । अब कोशी प्रदेशमा मात्र मुख्यमन्त्री चुन्न बाँकी रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले स्थिरतातर्फ सरकार अघि बढेको बताएका बताएका हुन् ।
अहिलेको सत्ता गठबन्धनलाई वामपन्थी एकता नभई सत्ता समीकरणको रूपमा मात्रै लिइएको प्रधानमन्त्रीको भनाइ रहेको थियो । तर, समझदारी राम्रो बन्दै गए वाम एकताको सम्भावना उनले देखाए ।
प्रधानमन्त्रीले भने, ‘समीकरण वामपन्थीको मात्र गरेको हैन, वाम एकता भन्नु सही पनि छैन, वाम गैरवाम सबै छन् । यसलाई सत्ता समीकरणको रूपमा लिएका छौं । राम्रो काम हुँदै गयो, छलफल हुँदै गयो, समझदारी राम्रो बन्दै गयो भने वामपन्थी विचार मिल्ने एक ठाउँमा हुने सम्भावना बढ्दै जान्छ । अहिले वामपन्थी एकता होइन, राजनीति सत्ता समीकरणको रूपमा मात्र हेरौं ।’