
दाङ: जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश सरकारबाट सहभागी भएको १५ दिनमै सरकारबाट बाहिरिएको छ ।जसपाबाट मन्त्री बन्दै भण्डारीलाल अहिर सरकारमा सहभागी भएका थिए । तर आज भण्डारीले पदबाट राजीनामा दिएका छन्।


भण्डारी चैत २५ मा मन्त्रीमा नियुक्त भएका थिए । जसपाले दुई मन्त्रालय माग गरेकोमा एउटा मात्रै मन्त्रालय दिइएपछि सरकारबाट बाहिरिने निर्णय गरेको जनाएको छ । सोही निर्णयका आधारमा मन्त्री अहिरले आइतबार राजीनामा दिएका हुन्।
अहिरले शनिबार नै राजीनामा बुझाए पनि आज मात्र सार्वजनिक भएको हो । उनले मुख्यमन्त्री जोखबहादुर महराले गत चैत २२ गते आफ्नो पार्टीसँग गरेको लिखित सम्झौता कार्यान्वयन नगरेको भन्दै नेपालको संविधानको धारा १६९ को उपधारा ९२० वमोजिम राजीनामा दिएको उल्लेख गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता महरा नेतृत्वको सरकारमा गत चैत २५ गते चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा जसपाबाट अहिर बिना विभागीय मन्त्री नियुक्त भएका थिए । वैशाख ६ गते उनले कृषि तथा भूमि व्यवस्था मन्त्रीको जिम्मेवारी पाएका थिए ।

सरकार गठनका क्रममा सरकारलाई समर्थन गरेका दलबीच भएको सझौताअनुसार जसपालाई सहरी विकास तथा पर्यटन र कृषि तथा भूमि व्यवस्था मन्त्रालय दिने लिखित सझौता भएको थियो ।

प्रदेशसभामा तीनजना सदस्य भएको जसपाले सरकारलाई दिएको समर्थन भने कायमै राखेको जनाएको छ ।

