नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी प्रथम कप्तान रहेकी नेरी थापाले खेल जीवनबाट सन्न्यास लिएकी छिन् । सोमबार फेसबुकमार्फत उनले अन्तर्राष्ट्रिय र घरेलु दुवै क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेकी हुन् । करिब १७ वर्षे क्रिकेट जीवनमा नेरीले नेपाललाई महत्वपूर्ण उपाधिसमेत दिलाएकी थिइन् ।

उनी पहिलो पटक सन् २००७ मा राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान बनेकी थिइन् । सन् २००९ मा खराब अनुशासनको कारण देखाउँदै नेरीलाई सन् २००९ मा मलेसियामा भएको एसीसी वुमेन्स टी २० मा कप्तानीबाट हटाइएको थियो । उक्त त्यो प्रतियोगितामा रीतु कनौजिया कप्तान बनेकी थिइन् । त्यसको २ वर्षपछि नेरीलाई पुनः कप्तान बनाइएको थियो ।
उनकै कप्तानीमा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो । नेरीको कप्तानीमा नेपालले सन् २००८ र २०१० मा एसीसी यू १९ वुमन्स च्याम्पियन्सको उपाधि समेत जितेको थियो । पछिल्लो समय भने नेरीले एपीएफबाट घरेलु क्रिकेट खेल्दै आएकी थिइन् ।



