धनगढीबाट काठमाण्डौंका लागि उडेको श्री एयरलाइन्सको जहाज फेरी अन्तै डाइभर्ट भएको छ।
धनगढीबाट (शुक्रबार) बिहान ९ः५० मा उड्ने जहाज १० बजे उडेको थियो। तर १० बजे धनगढीबाट उडेको जहाज काठमाण्डौं नभएर अन्तै डाइभर्ट भएको छ। काठमाण्डौं उड्नुपर्ने श्री एयरलाइन्सको जहाज पोखरामा अवतरण भएको एक यात्रुले बताए। धनगढीबाट उडेको जहाज पोखरामा अवतरणमा भएको खबर प्राप्त भएको धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले बताए।
उनका अनुसार इन्डीकेशन प्रोबलम आएकाले जहाज अन्तै डाइभर्ट भएको हो। जहाजका यात्रुका अनुसार अहिले पनि जहाज पोखरामै छ। यात्रुहरू जहाज अन्तै मोडिदा निकै त्रसित भएको एक यात्रुले बताएका छन्। पोखराबाट कतिबेला जहाज उड्ने हो कुनै जानकारी समेत नगराइएको ती यात्रुको गुनासो छ। एक साता अघि मात्र धनगढीबाट काठमाण्डौंका लागि उडेको श्री एयर लाइन्सको जहाज २ घण्टा २२ मिनेट आकाशमा उडेपछि भैरहवामा आपतकालीन अवतरण गरिएको थियो।
प्रकाशित :- २०८० चैत्र २३, गते शुक्रबार