कैलालीको घोडाघोडी नगरपालिका–८ लठुवामा रहेको लठुवा सामुदायिक वन उपभोक्ता समूहको १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सामुदायिक वनका अध्यक्ष सुनिता चलाउनेको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख खडक बहादुर रावत रहेका थिए भने विशिष्ट अतिथिमा वडा नम्बर ८ का वडा अध्यक्ष वीर बहादुर साउद र सामुदायिक वन उपभोक्ता महासङ्घ घोडाघोडीका अध्यक्ष रमेश बस्नेत रहेका थिए ।
प्रमुख अतिथि नगर प्रमुख खडक बहादुर रावतले कार्यक्रमलाई सम्बोधन गर्दै पछिल्लो समयमा बन जङ्गल दिनहुँ बन अतिक्रमण भइरहेको हुँदा त्यसलाई रोक्न सबै जना लाग्नु पर्ने बताए । वन सँग सहकार्य गरेर आफूहरू काम गर्न तयार रहेको बताउँदै सामुदायिक वन उपभोक्ताले देखाएको सक्रियता प्रशंसनीय रहेको उल्लेख गरे, दिगो वन व्यवस्थापन, वृक्षारोपण र स्थानीय आर्थिक समृद्धिका लागि समितिको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।
वार्षिक साधारण सभामा आर्थिक वर्ष २०८१-२०८२ को ५३ लाख ३८ हजार १ सय ८८ रुपैयाँ बराबरको आय व्यय वनका कोषाध्यक्ष रोमन चौधरीले सभामा प्रस्तुत गरेकी छन् । साथै कार्यक्रममा आर्थिक वर्ष २०८२-२०८३ को अनुमानित ४१ लाख १४ हजार ७ सय ८० रुपैयाँ बराबरको आय व्यय प्रस्तुत गरीएको थियो । जसलाई साधारण सभाले सर्वसम्मतिले पारित गरेको थियो ।
कार्यक्रममा विभिन्न वक्ताहरूले आफ्ना धारणा राख्दै साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए । लठुवा सामुदायिक वनका उपाध्यक्ष भीम बुढाको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन वनका सचिव कपिल सापकोटाले गरेका थिए । कार्यक्रममा विभिन्न सामुदायिक वनका अध्यक्ष तथा सामुदायिक सङ्घ संस्थाका प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि,सङ्घ संस्थाका प्रतिनिधि ,वन संरक्षण प्रेमी,उपभोक्ता र पत्रकार लगायत विभिन्न व्यक्तिहरूले उपस्थिति रहेको थियो ।


