सर्लाही : बाल यौन दुरुपयोगमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले १० वर्ष कैदको सजाय सुनाएको छ । यस्तै उनलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने समेत फैसला गरेकोे छ ।

जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले सोमबार अभियुक्त बम्जन विरुद्ध त्यस्तो फैसला गरेको अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।
यस अघि गत असार १० गते भण्डारीकै इजलासले तपस्वी बम्जनलाई कसुरदार ठहर गरेको थियो । आजको इजलासले पूर्ण फैसला गरेको हो । अभियुक्त बम्जन विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मलंगवाले भने १२ देखि १४ वर्ष सम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदाबीसहित अभियोग पत्र दायर गरेको थियो ।
सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि बम्जन हाल महोत्तरी कारागार जलेश्वरमा छन् ।
सर्लाही जिल्ला अदालतले २०७७ साल असार २१ गते जारी गरेको पक्राउ पुर्जीका आधारमा बम्जनलाई काठमाडौंको बुढानिलकण्ठबाट गत पुस २४ गते मंगलबार साँझ सीआईबीको टोलीले पक्राउ गरेको थियो । २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा बम्जन विरुद्ध जाहेरी परेको थियो ।



