गोपाल जंग थापा
अपाङ्गता भएका व्यक्तिहरुलाई अर्गानिक तरकारी खेती र कुखुरा पालन सीप सम्बन्धी तालिम ललितपुरमा सम्पन्न भएको छ । सक्षमता विकास समाज नेपालले अपाङ्गता भएका व्यक्तिहरुको जीविकोपार्जन सुधार मार्फत सशक्तिकरण गर्ने उदेश्यले सञ्चालन गरिएको तालिमका सहभागीहरुलाई असोज २५ गते विहिबार एक कार्यक्रमको आयोजना गरी बिदाइ गरिएको हो ।
उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथी एवं कृषि ज्ञान केन्द्र ललितपुरकी कृषि प्रसार अधिकृत अर्चना भट्टराईले व्यवसायिक कृषि खेतीका लागि सरकारी सेवा र सहयोगका बारेमा जानकारी दिँदै अपाङ्गता भएका व्यक्तिहरूले कृषि सम्बन्धी तालिम प्राप्त गरेकोमा खुसी व्यक्त गरिन । उनले तालिममा सिकेको सिपलाई व्यवहारमा लागू गर्न सके यसले व्यक्तिको मात्र नभई परिवारको आर्थिक अवस्था सुधार गर्न टेवा पुग्ने बताइन ।
एडसन कार्य समितिका सदस्य विजय मल्लपतिले अपाङ्गता भएका सहभागीहरुलाई आधुनिक अर्गानिक तरकारी र कुखुरापालन सिकाउने कार्यको प्रशंसा गरे । उनले तालिमबाट सिकेको ज्ञानको सदुपयोग गर्दै भविष्यका लागि शुरु गर्ने कृषि कर्मका लागि शुभकामना व्यक्त गरे ।
छैठौं ब्याचका सहभागीहरूको रुपमा अपाङ्गता भएका पाँच जना महिला र पाँच जना पुरुष गरी १० जनालाई तालिम प्रदान गरिएको हो । उनीहरुलाई सिटीइभिटीको पाठ्यक्रममा आधारित आधुनिक अर्गानिक तरकारी र कुखुरापालन सीप सम्बन्धी तालिम दिइएको छ । तालिम पश्चात सहभागीहरुलाई उपहार स्वरुप कृषि सामाग्री पनि प्रदान गरिएको छ । तीन महिना सम्म सञ्चालन गरिएको तालिममा तरकारी खेती र कुखुरा पाल्नका लागि विभिन्न वैज्ञानिक प्रविधिहरूका बारेमा जानकारी दिइएको छ । तालिम अवधीभर विभिन्न कृषि अभ्यासहरुमा प्रत्यक्ष सहभागी गराइएको थियो । यस अवधीमा अर्गानिक तरकारी उत्पादन कसरी गर्ने, कम पानीमा धेरै सिंचाई गर्न सकिने थोपा सिँचाई प्रविधी, युभी प्लाष्टिक टनेल भित्र गर्ने अर्गानिक तरकारी खेतीलाई कसरी प्रभावकारी बनाउने बारे ज्ञानसिप आदान प्रदान गरिएको थियो ।
त्यसैगरी कुखुरा पालन गर्दा अपनाउनु पर्ने उपाय, ज्ञान, सिप, उपचार विधी, दाना, कुखुराको हेरचाह लगायतका विषयमा पनि प्रशिक्षण दिइएको थियो ।
द रोज इन्टरनेशनल फण्ड फर चिल्ड्रेन (टिआरआईएफसी०, रोटरी क्लब अफ पाटन, र एबिलिटी डेभलपमेन्ट सोसाइटी अफ नेपाल (एड्सन) को संयुक्त साझेदारीमा अर्गानिक तरकारी र कुखुरापालन सीप सिकाएर नेपालमा अपाङ्गता भएका व्यक्तिहरूलाई सशक्तिकरण गर्ने परियोजना सन् २०२१ जुलाईदेखि सञ्चालित छ ।
यस परियोजनाले विगत २ बर्षको अन्तरालमा ३७ जना अपाङ्गता भएका व्यक्तिहरुलाई तालिम प्रदान गर्न सफल भएको एबिलिटी डेभलपमेन्ट सोसाइटी अफ नेपालकी संयोजक जयन्ती भट्टले जानकारी दिइन् । उनले हाल सम्म तालिम लिएका मध्ये १० जनाले आफ्नो गृहनगरमा आधुनिक जैविक खेती प्रविधिको सफलतापूर्वक अभ्यास मार्फत कृषि कर्म गरीरहेको बताइन ।