कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित कान्तिराज्य लक्ष्मी माविको खेलमैदानमा आइतबारदेखि मदन भण्डारी कप जिल्लास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी घोडाघोडी नगर कमिटीको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावतले गरेका हुन्।
प्रमुख अतिथि रहेका नगरप्रमुख रावतले नेपालको राष्ट्रिय झण्डा र मदन भण्डारी एकेडेमीको झण्डा फहराएर कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए।
उद्घाटन कार्यक्रममा मदन भण्डारी एकेडेमीका केन्द्रीय सदस्य ज्ञानु चौधरी, कैलाली जिल्ला अध्यक्ष मदन ओझा, नेकपा एमालेकी जिल्ला कमिटी सदस्य करुणा बम, एमालेका स्थानीय नेता कार्यकर्ता, पहलमानपुर बजार व्यवस्थापन समितिका अध्यक्ष करण बिष्ट लगायतको उपस्थिति रहेको थियो।
आइतबार नै खेलिएको पहिलो उद्घाटन खेलमा सहारा युवा क्लब पहलमानपुरले विजयी सुरुवात गरेको छ।
उद्घाटन खेलमा सहारा युवा क्लबले घोडाघोडी नगरपालिका वडा नम्बर १२ लाई ०–१ गोल अन्तरले पराजित गरेको हो।
घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरस्थित कान्तिराज्य लक्ष्मी माविको खेलमैदानमा भएको खेलमा सहाराले पहिलो हाफमै निर्णायक गोल गरेको थियो। खेलमा दुबै टिमले आकर्षक प्रदर्शन गरे पनि सहाराले गोलको अग्रता जोगाउँदै जित हात पारेको हो।
आयोजकका अनुसार प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल हुने कार्यक्रम छ । प्रतियोगितामा जिल्लाका विभिन्न क्लब र स्थानीय तह हरूबाट टिमहरूले सहभागिता जनाएका छन्।




