काठमाडौँ : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं सांसद रञ्जिता श्रेष्ठ (चौधरी) ले पार्टी र परिवार छुट्टै विषय भएको बताएकी छन् । प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुरामा उनका पति तथा पार्टी संरक्षक रेशम चौधरी र उनको फरक मत रहेको कुरा बाहिरिएको थियो । रेशम प्रधानमन्त्रीलाई विश्वासको मत नदिने पक्षमा थिए भने श्रेष्ठ पक्षमा रहेकी थिइन् ।
सोही विषयमा अध्यक्ष श्रेष्ठले बुधवार प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई विश्वासको मत दिएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग रेशम र आफ्नो फरक मत रहेको उल्लेख गरिन् ।
सञ्चारकर्मीले डिर्भोस हुन लागेको कुरा के हो ? भनेर सोधेको प्रश्नमा उनले भनिन्, ‘विवाह भएको २५ वर्ष भइसकेको छ, श्रीमान् श्रीमतीबिच विभिन्न विषयमा ठाकठुक परिरहन्छ । डिभोर्स हुने भए पहिले हुन्थ्यो । पार्टीगत रूपमा विचार नमिलेको हो । मैले बुझाएको हो, उहाँको आफ्नै बिचार छ, मेरो आफ्नै विचार छ ।’
उनले श्रीमान् श्रीमतीले चलाएको पार्टी नभई जनताले चलाएको पार्टी भएको प्रतिक्रिया समेत दिएकी हुन् ।