कैलालीको बर्दगोरिया गाउँपालिकाको मुख्य बजार बौनिया बजारको ढल निकासको समस्या हल गर्ने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बताएका छन् । मङ्गलवार बौनियामा बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सवको उद्घाटन गर्दै उनले ढल निकासको समस्या तत्काल समाधान गर्ने आश्वासन दिए ।

“तपाईँहरूले ज्ञापन पत्र मार्फत पनि ध्यानाकर्षण गराउनु भएको छ । मलाई लाग्छ, यो ढल निकासको काम धेरै ठुलो विषय होइन । यो समस्या समाधानका लागि म तत्काल काम अघि बढाउँछु ।” उनले भने ।
बजारको बाक्लो बस्तीका बिच विगत लामो समय देखि ढल निकास नहुँदा बजारवासीले डुबान तथा दुर्गन्धको समस्या भोग्दै आएका छन् । सङ्घीय सरकार मार्फत ढल निकासाका लागि १७ सय मिटर नाला निर्माण गर्ने भन्दै सुरु गरिएको काम समेत बजेटको अभाव देखाउँदै अलपत्र पारिएको छ ।


