कैलालीको टीकापुर नगरपालिकाका उप-प्रमुख खडकबहादुर शाह निलम्बित भएका छन् ।
टीकापुर नगर विकासको जग्गा प्रकरणमा उप-प्रमुख शाहलाई अख्तियारले दोषी ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। यसै बिच अख्तियारले शाहलाई निलम्बन गर्न भन्दै नगरपालिकालाई पत्र काटेको थियो। अख्तियारको पत्रपछि फागुन १८ गतेको टिकापुर नगरपालिकाको कार्यपालिका बैठकले शाहलाई निलम्बन गरेको हो।
नगरपालिकाका सूचना अधिकारी देवीप्रसाद आचार्यले उप-प्रमुख शाहलाई निलम्बन गरिएको पुष्टि गरे । अख्तियारको पत्रमा स्वतः निलम्बन हुने लेखिएपछि कार्यपालिकाले निर्णय गरी पठाएको उनको भनाई छ ।
यसअघि नै अख्तियारले टीकापुर बजार क्षेत्रको ६ बिगाहा १८ कट्ठा १० धुर सरकारी जग्गा नक्कली कागजातका आधारमा व्यक्ति विशेषको नाममा हक हस्तान्तरण गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
जसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाह सहित २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
शाह तत्कालीन नगर विकास समितिका बोर्ड सदस्य थिए।
प्रकाशित :- २०८० फाल्गुन २०, गते आईतवार