
कठमाण्डौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज शुक्रबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदै छन् ।


नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले प्रधानमन्त्री भएकोे १८ महिनामा पाँचौ पटक विश्वासको मत लिन लागेका हन् । पछिल्लो पटक उनलाई समर्थन गरेको दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि भोलि असार २८ गते बस्ने प्रतिनिधि सभा बैठकमा उनले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले असार २८ गतेको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा विश्वासको मतसम्बन्धी प्रस्ताव समावेश गर्ने व्यवस्थाका लागि सङ्घीय संसद्लाई लिखित आग्रह गरेका छन् ।
संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेपछि एमालेले समर्थन फिर्ता लिएको थियो । दुवै ठूला दलले आलोपालो सरकारको नेतृत्व लिने गरी सरकार गठनको सहमति र निर्णय गरेका छन् ।

विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसद्मा तेस्रो ठूलो दल बनेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड २०७९ साल पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

एमालेसहित १ सय ६९ सांसदको समर्थनमा अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री नियुक्त भएको १५ दिनपछि उनले पहिलो पटक २०७९ पुस २६ गते प्रतिनिधिसभाको जम्मा २ सय ७० जना सांसदमध्ये २ सय ६८ जनाको मत प्राप्त गरि नेपालको राजनीतिमा नयाँ इतिहास कायम गरेका थिए । दुईजना सांसदले विपक्षमा मतदान गरेका थिए ।

त्यसको झण्डै साढे दुई महिनापछि एमालेलगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले २०७९ साल चैत ६ गते दोस्रोपटक विश्वासको मत लिनुभएको थियो। त्यसबेला उनलाई प्रतिनिधिसभा बैठकमा उपस्थित २ सय ६२ सांसदमध्ये कांग्रेससहित १ सय ७२ जनाले विश्वासको मत दिएका थिए भने विपक्षमा ८९ सांसदको मत परेको थियो । एकजना सांसदको तटस्थ मत रहेको थियो ।

प्रधानमन्त्री प्रचण्डले २०८० साल फागुन ३० गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाएपछि पुनः तेस्रो पटक विश्वासको मत लिएका थिए । त्यसबेला प्रतिनिधिसभा बैठकमा सहभागी २ सय ६८ सांसदमध्ये १ सय ५७ जनाले उनको पक्षमा मतदान गरेका थिए । कांग्रेससहित १ सय १० सांसदले भने विपक्षमा मतदान गर्दा एक मत तटस्थमा परेको थियो ।

त्यसपछि जनता समाजवादी पार्टी नेपाल विभाजन भएसँगै सो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले २०८१ साल जेठ ७ गते कांग्रेसलगायत विपक्षी दलको संसद् बैठक अवरोधबीच चौथो पटक विश्वासको मत लिएका थिए । । त्यसबेला उनको पक्षमा १ सय ५७ सांसदले मत गर्दा एकजना सांसदले तटस्थ मत जाहेर गरेको कुरा ताजै छ ।
संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्ने व्यवस्था छ । सोही धाराको उपधारा (३) मा उपधारा (१) र (२) बमोजिम पेस भएको प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने व्यवस्था छ । संविधानअनुसार हालको प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचित १ सय ६५ र समानुपातिकतर्फ १ सय १० गरी कुल २ सय ७५ सदस्यीय रहेको छ ।
विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभाको २ सय ७५ सिटका लागि भएको निर्वाचनमा कांग्रेसले ८९, एमालेले ७८, माओवादी केन्द्रले ३२, राष्ट्रिय स्वतन्त्र पार्टीले २०, राष्ट्रिय प्रजातन्त्र पार्टीले १४, जनता समाजवादी पार्टीले १२, नेकपा (एकीकृत समाजवादी)ले १०, जनमत पार्टीले ६, स्वतन्त्र ५ जना, लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले ३, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा १–१ हात पारेका थिए ।