धनगढी : सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ती पार्टीकै २ जना प्रदेश सभा सांसद्ले दावी पेश गर्दा मुख्यमन्त्री नियुक्तिमा सकस देखिएको छ ।
उन्मुक्तिमा संरक्षक रेशम चौधरी पक्षका लक्ष्मण किसोर चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलास चौधरीले मुख्यमन्त्रीमा दावी पेस गरेका हुन् । उन्मुक्तिमा चौधरी र श्रेष्ठ पक्ष विभाजित छन् । श्रेष्ठ केन्द्रीय सत्ता गठबन्धनमा छन् भने रेशम त्यसको विपरीत छन् । रेशम पक्षधरलाई कांग्रेसले सहयोग गरेको छ । त्यसमा राप्रपा र एकीकृत समाजवादीको पनि समर्थन रकेकाे छ । कैलाश चौधरीलाई एमाले र माओवादी सहित स्वतन्त्र सांसदकाे समर्थन छ ।
दोहोरो दाबी परेपछि आज मुख्यमन्त्री नियुक्ति नहुने सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेशराज ढुङ्गानाले जानकारी दिएका छन् । उनले भने ‘दोहोरो दाबी परेको छ । अब अध्ययन गरेर मात्रै प्रदेश प्रमुखले निर्णय लिनुहुन्छ । त्यसैले आज मुख्यमन्त्री नियुक्ति सम्भव भएन ।’
मुख्यमन्त्रीका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको १० दिनको समय आज ५ बजे सकिएको छ ।