
१९ वर्षमुनिको महिला विश्वकप अन्तर्गत एशिया छनोटको तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको छ । युएईले दिएको १ सय २३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक ४८ रन बनाइन् । साना प्रविन र सोनी पाख्रिनले समान १९ तथा ज्योत्सिका मरासिनीले अविजित ११ रन बनाइन् । बलिङतर्फ युएईकी मेहक ठाकुर, लाभन्या केन्य र इदुजा नन्दकुमारीले समान एक विकेट हात पारिन् ।
त्यसअघि युएईको अजमानमा टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २२ रनको बनाएको थियो । युएईका लागि रनिथा रजिथाले सर्वाधिक ४८ रन बनाइन् ।
नेपालका लागि रिया शर्माले ३ तथा सिमाना केसी, पुजा महतो र कृष्मा गुरुङले समान १ विकेट लिए ।
प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी १९ वर्ष मुनीको महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ । १९ वर्षमुनीको विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।
