हालै सार्वजनिक भएको कक्षा ८ को नतिजालाई आधार मान्ने हो भने कैलालीको घोडाघोडी नगरपालिकामा शिक्षाको अवस्था खस्कँदो गतिमा अघि बढेको देखिन्छ । नगरपालिकामा रहेका ३७ वटा सामुदायिक विद्यालय मध्ये ४ वटाले मात्रै ५० प्रतिशत बढी नतिजा निकालेका छन् ।

पालिकाको शिक्षा शाखा अनुसार वडा नम्बर ८ मा रहेको भैरव आधारभूत विद्यालयले कक्षा ८ मा ७२ दशमलव ०९ प्रतिशत नतिजा निकाल्दै सामुदायिक तर्फ प्रथम बनेको छ । यस्तै वडा नम्बर १ मा रहेको छडी माध्यमिक विद्यालय बेलारले ६७ दशमलव ५ प्रतिशत, वडा नम्बर ६ मा रहेको सरस्वती आधारभूत विद्यालय बसन्ताले ५४ दशमलव १ प्रतिशत र वडा नम्बर १ मा रहेको जनज्योति माध्यमिक विद्यालयले ५० दशमलव ७९ प्रतिशत नतिजा निकालेका छन् । अन्य कुनै पनि विद्यालयले ५० प्रतिशत विद्यार्थी पास गराउन सकेका छैनन् । समग्रतामा सामुदायिक तर्फ २५ दशमलव ३६ प्रतिशत विद्यार्थी पास भएका छन् भने संस्थागत तर्फ ८४ प्रतिशत विद्यार्थी पास भएका छन् ।
यस्तै पालिकाका ३ वटा विद्यालयले शून्य नतिजा निकालेका छन् । वडा नम्बर १ मा रहेको विराट सनातन धर्म संस्कृति विद्यापीठ माध्यमिक विद्यालय, वडा नम्बर ३ मा रहेको गँगरी आधारभूत विद्यालय बगुलिया र वडा नम्बर १२ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय नकफोडुवा शून्य नतिजामा सीमित छन् । यी ३ वटा विद्यालयमा क्रमशः २६, १५ र ३६ विद्यार्थी परीक्षामा सामेल भएका थिए । यस्तै पालिकाको वडा नम्बर ७ मा रहेको कण्ठेश्वर आधारभूत विद्यालयले परीक्षामा सहभागी २२ जना मध्ये १ जना, वडा नम्बर ५ मा रहेको जनता आधारभूत विद्यालय सरैयाले सहभागी ४० जनामा १ जना, वडा नम्बर ४ मा रहेको मेलघट्टी आधारभूत विद्यालयले परीक्षामा सहभागी ३६ जनामा १ जना, वडा नम्बर १० मा रहेको जनकल्याण माध्यमिक विद्यालय थेवैले ३२ जनामा १ जना र वडा नम्बर ११ मा रहेको अमरसहित आधारभूत विद्यालयले २१ जनामा १ जना विद्यार्थी मात्रै उत्तीर्ण गराएका छन् ।
पालिकामा देखिएको कक्षा ८ को नतिजाले वर्तमान शिक्षाको अवस्था उदाङ्गो पारिदिए पछि सरोकारवालालाई गम्भीर बनाएको छ । अपेक्षाकृत नतिजा नआउँदा सबै जिम्मेवार निकायलाई समेत आलोचित बनाएको छ । “नतिजा राम्रो आएन, दोष एउटाको मात्र होइन । यसको जिम्मेवारी सबैले लिनुपर्छ । विद्यार्थी, अभिभावक देखी शिक्षक र सरकार सम्मको कमजोरी भएको अनुभूति गरेका छौ । यो नतिजाले हामीलाई निकै गम्भीर बनाएको छ । आगामी दिनका लागी हामी नयाँ योजना र रणनीतिका साथ अघि बढ्छौ ।” नगरपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर सिंहले भने । विगतमा विद्यालय आफैले परीक्षा लिई चेकजाँच गर्दै नतिजा तयार गर्ने गरिएकोमा यस वर्ष भने नगरपालिकाले नगर स्तरीय परीक्षाका रूपमा सेन्टर फेरबदल गरी परीक्षा सञ्चालन तथा चेकजाँच र नतिजा प्रकाशन गरेको थियो ।



