
कैलाली : सुदूरपश्चिम प्रदेशमा सम्भावित विपद्को समयमा उद्धार कार्यका लागि प्रदेशका सबै प्रहरी युनिटलाई ‘हाइ अलर्ट’मा राखिएको छ ।


जिल्ला प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय र प्रहरी चौकीमा कार्यरत प्रहरी जनशक्ति तुरुन्त परिचालित हुने गरी तैनाथ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीका वरिष्ठ प्रहरी उपरीक्षक डिल्लीराज बिष्टले बताए । प्रदेशभर तीन दिनदेखि पानी परिरहेकाले पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
राजमार्गमा परेको पहिरो पन्छाउने र सडक यातायात सुचारु गर्ने हिसाबले समेत प्रभावित क्षेत्रमा प्रहरी परिचालन गरिएको वरिष्ठ प्रहरी उपरीक्षक बिष्टले बताए । सुदूरपश्चिम प्रहरी कार्यालयले दिएको जानकारी अनुसार वर्षाको कारण जयपृथ्वी राजमार्ग पहिरोका कारण बझाङ जिल्लामा यातायात सेवा अवरुद्ध भएको छ । यस्तै, साँफेबगर– मार्तडी सडक खण्ड पनि पहिरोले गर्दा अहिले अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

केआई सिंह राजमार्ग अन्तर्गत रडुवामा पहिरोका कारण पटक–पटक राजमार्ग अवरुद्ध भइरहेको छ भने प्रहरीले खुलाउने का गरिरहेको प्रदेश प्रहरी प्रवक्ता बिष्टले बताए । दार्जुला सडक खण्डको शैल्यशिखर र मालिकार्जुन गाउँपालिकाको सिमाना पनेबाँजमा पहिरोका कारण सडक अवरुद्ध हुने र खुलाउने काम भइरहेको छ ।

बझाङ र बाजुरामा भने अहिले सडक अवरुद्ध हुँदा आवागमन बन्द रहेको प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा प्रहरीले स्थानीय तह र अन्य सरकारी निकायका एक्स्काभेटर लगाएर सडक खुलाउने काम गरिरहेको छ । प्रदेशभर सबै प्रहरी युनिटमा उच्च सतर्कता अपनाउन निर्देशन दिइएको बताइएको छ ।
कैलाली र कञ्चनपुरमा डुबार र बाढीबाट आउने खतरालाई मध्यनजर गरेर कर्णाली, र महाकाली नदीको पानीको बहाउको प्रहरीले निगरानी गरिरहेको प्रदेश प्रहरी प्रवक्ता बिष्टले बताए । उनले नेपाल प्रहरीले सशस्त्र प्रहरी बल र नेपाली सेनासँग समेत विपद्मा मिलेर काम गर्न समन्वय गरिरहेको बताएका छन्। सुदूरपश्चिममा विपद्को सामना गर्न करिब ११ सय प्रहरी तैनाथ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

