कैलालीको लम्कीचुहा नगरपालिकाले नयाँ आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको मङ्गलवार १३ औँ नगर सभा अधिवेशन मार्फत उपमेयर जुना चौधरीले १अर्ब १० करोड ६६ लाख ११ हजारको अनुमानित बजेट सार्वजनिक गरेकी छन्। कुल बजेट मध्ये ७० करोड ३९ लाख १ हजार चालुतर्फ, ४० करोड २६ लाख ४० हजार पुँजीगत तर्फ विनियोजन गरिएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागी २४ करोड ४५ लाख ५९ हजार आन्तरिक आय अनुमान गरेको छ । यस्तै राजस्व बाँडफाँडबाट १८ करोड ३५ लाख,५१ हजार,समानिकरण अनुदान (नेपाल सरकार) १८ करोड ३० लाख, समानिकरण अनुदान(प्रदेश सरकार)१ करोड ७५ लाख ९० हजार,सशर्त अनुदान (नेपाल सरकार) ४३ करोड ५३लाख ४१ हजार ,सशर्त अनुदान (प्रदेश सरकार) १ करोड१३ लाख ७० हजार,विशेष अनुदान (नेपाल सरकार) १ करोड १०लाख, विशेष अनुदान (प्रदेश सरकार)२५ लाख, समपुरक अनुदान प्रदेश सरकार १ करोड ६८ लाख गरेर कुल १ अर्ब १० करोड ६६ लाख ११ हजार रुपैयाँ बजेट प्रस्तुत गरिएको हो।
त्यस्तै क्षेत्रगत विकासतर्फ आर्थिक विकास तर्फ कुल बजेट मध्य १ करोड ८५ लाख जुन कुल बजेटको १.६८ प्रतिशत, सामाजिक विकास तर्फ १४ करोड ४० लाख १३.०५ प्रतिशत,पूर्वाधार विकास तर्फ ३८ करोड ७५ लाख ३५.२५ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धी क्षेत्र तर्फ २० लाख ०.९० प्रतिशत,त्यस्तै कार्यालय सञ्चालनतर्फ ५४ करोड ३५ लाख ७१ हजार विनियोजन गरिएको छ, जुन कुल बजेटको ४९.१२ प्रतिशत हुन आउँछ।त्यस्तै व्ययतर्फ लम्किचुहा भल्का अस्पताल र स्वास्थ्य क्षेत्र तर्फ रु ४ करोड ,गुणस्तरीय शिक्षामा सबैको पहुँच कायम गरी शिक्षित समाजको निर्माणका लागि ८ करोड,किसानहरूको जीवन स्तरमा परिवर्तनका लागि १ करोड ५० लाख,पशु सेवा शाखा व्यवस्थापन तथा स्वास्थ्यको अवस्थालाई मध्यनजर गदै ३० लाख,महिला बालबालिका तथा जेष्ठ नागरिकको प्रभावकारी व्यवस्थापनका लागि २५ लाख विनियोजन गरिएको छ
यसै गरी भूमिहीन दलित भूमिहीन सुकुम्वासी बसोबासको व्यवस्थापनका लागि ५० लाख, नगर प्रहरी कार्यसम्पादन अभिवृद्धिका साथै एम्बुलेन्स र पोष्ट मार्ट्म भ्यान खरिद का लागि १ करोड, विपन्न नागरिकको आधारभूत आवश्यकताको रूपमा रहेको आवास कार्यक्रम विस्तारका लागि १ करोड ,अधुरा तथा नयाँ सडक कालोपत्रेका लागि २ करोड,अपराधीक क्रियाकलाप नियन्त्रण गर्नका लागि हाइमस्ट लाइट तथा सि.सि क्यामेरा जडानका लागि ६० लाख, लम्की टिकापुर सडक खण्डमा सडक बत्ती जडानका लागि १ करोड ५६ लाख रकम विनियोजन गरिएको छ।
प्रकाशित :- २०८१ असार २५, गते मंगलवार