प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तीमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ भने तीन जना घाइते भएका छन् ।
ज्यान गुमाउनेमा २ जना कैलालीका रहेका छन्।
इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालका अनुसार मृत्यु हुनेमा घोडाघोडी नगरपालिका ४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बर्दगोरिया–३ कैलालीका आशिष चौधरी, लेकम –५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् ।
यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, शारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको मृत्यु भएको छ ।
शारदा–२ सल्यानका विधान सेजवाल, दगिशरण–३ दाङका प्रवीण डाँगी घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुवैको खट्टामा गम्भीर चोट लागेको छ ।
गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेलको पनि उपचार भइरहेको छ । टीकापुर–९ कैलालीका धनबहादुर चौधरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
त्रिवेणी–१ सल्यानका प्रमोद केसी फार्म हाउस मालिकको घरमा सुरक्षित छन् भने भजनी त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोष्टमा सुरक्षित अवस्थामा छन् ।
राजदूत रिजालले भन्नुभयो , ‘मृतक १० जनाको शव नेपाल पठाउन व्यवस्थापन मिलाइरहेका छौँ । बाँकी घाइते र बंकरमा सुरक्षितहरूलाई पनि चाँडोभन्दा चाँडो उद्धार गर्न प्रयासरत छौँ ।’