
बाजुरा : बाजुराका चेतनदिप अयडीको हत्या प्रकरणमा प्रहरीले थप १२ जनालाई पक्राउ गरेको छ । बाजुरा प्रहरीका अनुसार २४ जनामा १२ जना फरार रहेका थिए । उनीहरूलाई पनि सोमवार पक्राउ गरेको हो ।

नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालय तत्कालीन अध्यक्ष ३२ वर्षीय अयडीको हत्यामा संलग्न भएको आरोपमा फरार रहेका उनीहरू पक्राउ परेका हुन् ।
फरारको सूचीमा रहेका ३३ वर्षीय नर अयडी, नरेश अयडी, २५ वर्षीय मंगल अयडी, ३३ वर्षीय मोहनबहादुर अयडी, २७ वर्षीय नविन अयडी, २२ वर्षीय लोकेश अयडी, २३ वर्षीय जीवन अयडी, ३२ वर्षीय उद्धव अयडी, ३८ वर्षीया अनिता रौले अयडी, ३६ वषीया धना देवी अयडी, ४५ वर्षीय पदम बहादुर अयडी र ३२ वर्षीया ईश्वरा देवी अयडीलाई सदरमुकाम मार्तडीबाट प्रहरीले पक्राउ गरिएको हो ।
२०७९ मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा त्रिवेणी नगरपालिका ७ को नाटेश्वरी आधारभूत विद्यालय दम्था मतदान केन्द्रमा एमाले र काँग्रेसको विवाद भएको थियो । विवादलाई लिएर नेपाली काँग्रेसका कार्यकर्ताहरूले चेतनदिप अयडीको घरमै गएर कुटपिट गरेका थिए । उनको हत्या गरिएको पीडित पक्षको आरोप रहेको छ ।
छोराको विभत्स हत्या गरिएको भन्दै चेतनका बुबा गगने अयडीले २४ जनाविरुद्ध किटानी जोहेरी दर्ता गराएका थिए । उनीहरूमध्ये मिति २०८० मंसिर १९ गते सर्वोच्च अदालतको आदेशअनुसार शेरबहादुर अयडी, खेमराज अयडी, सागर अयडी र धनराज थापालाई पूर्वक्षका लागि जिल्ला कारागार बाजुरा पठाउन आदेश दिएको थियो ।

यसैगरी रुपा चौधरी, विनोद अयडी,चक्र अयडी, जुद्ध अयडी, भुपाल अयडी, र रनसिहं अयडीलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको थियो । त्यस्तै मिति २०८० चैत्र ८ गते जिल्ला अदालत बाजुराको आदेशमा रतन अयडीलाई साधारण ताडिकमा छा्ड्न आदेश दिएको थियो भने निरज अयडीलाई तीन लाख धरौटीसहित तारिखमा छोड्न आदेश दिएको छ । सोमबार पक्राउ परेका थप १२ जनाको समेत अदालतमा बयान सुरु भएको छ ।