
कैलाली । नेपाल सरकारले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई टी २० विश्वकप तयारी स्वरुप ५ करोड रुपैयाँ दिएको छ ।

नेपाल सरकार अर्थ मन्त्रालयले आज आईसीसी पुरुष टी २० विश्वकप क्रिकेटको तयारी गर्नका लागि नेपाल क्रिकेट सङ्घ क्यानलाई ५ करोड रुपैयाँ निकासा गरिएको क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन् ।
सचिव खड्काले सरकारले टी २० विश्वकप क्रिकेटको तयारीका लागि ५ करोड रुपैयाँ विनियोजन गरिको भन्दै प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) र राष्ट्रिय खेलकुद परिषद्का सदस्य टङ्कलाई घिसिङ्ग प्रति आभार प्रकट समेत गरेका छन् ।
आउँदाे जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयूक्त रूपमा हुने पुरुष आईसीसी टी २० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो स्थान सुरक्षित गरी सकेको छ ।
नेपाली टोली विश्वकपमा पुगेपछि टोलीको तयारीका लागि लाग्ने खर्चमा कुनै कमी हुन नदिने प्रतिबद्धता प्रधानमन्त्री दाहालले गरेका थिए । सोही अनुरूप आज सरकारले क्यानलाई रकम निकासा गरी दिएको हो ।

नेपालमा गत अक्टोबर ३० देखि नोभेम्बर ५ सम्म भएको आईसीसी पुरुष टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराउँदै अमेरिका र वेस्ट इन्डिजमा जुन १ तारिखदेखि सुरु हुने आईसीसी पुरुष टी-२० विश्वकपका लागि छनोट भएको थियो ।
सन् २०१४ मा पहिलो पटक टी-२० विश्वकप खेलेको नेपालले १० वर्षपछि टी-२० विश्वकप खेल्न लागेको हो ।
विश्वकपको तयारी स्वरुप नेपालले फागुन १५ गते देखि २२ गते सम्म कीर्तिपुर स्थित टियु मैदानमा घरेलु टोली नेपाल सहित नेदरल्याण्ड्स र नामिवियासँग त्रिकोणात्मक सिरिज खेलेको थियो । जसको फाइनलमा मङ्गलबार नेदरल्याण्डससँग चुक्दा उपाधि उचाल्न भने नेपाल असफल रहेको थियो ।
अब पुनः नेपालले विश्वकप अघि हङकङमा त्रिकोणात्मक सिरिज खेल्ने तालिका रहेको छ । त्यसपछि आयरल्यान्ड ए, भारतको बरोडा र गुजरातसँग पनि सिरिज खेल्ने क्यानले बताएको छ । आउँदो अप्रिलमा नेपालले एसीसी प्रिमियर कप खेल्ने तालिका समेत रहेको छ । विश्वकप अघि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको तालिका निकै व्यस्त रहेको छ । जसको लागि सरकारले आर्थिक अभावले नहोस् भन्दै क्यानलाई पैसा दिएको हो ।