कैलाली । कैलाली जिल्लाको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले चार महिनादेखि तलब भत्ता नपाएको गुनासो गरेका छन् । स्वास्थ्यकर्मीहरुले चालु आर्थिक वर्षको असोजसम्मको मात्र तलबभत्ता पाएको गुनासो गरेका छन् ।
चार महिनादेखि तलब भत्ता रोकिएपछि दैनिक जीवन चलाउन मुस्किल हुन थालेको उनीहरुको गुनासो रहेको छ । गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी प्रमोद कठरियाले समयमा तलब नआएपछि समस्या भएको बताएका हुन् ।सङ्घीय तहबाट पालिकामा समायोजन भएर आएका स्वास्थ्यकर्मीले पाउँदै आएको तलबभत्ता गाउँपालिकाले बजेटको अभाव देखाउँदै रोकिदिएको जनाएको छ ।
सङ्घीय सरकारबाट आर्थिक वर्षको शुरुमै आउनु पर्ने पर्याप्त बजेट नआएपछि समस्या भएको गाउँपालिकाका लेखा अधिकृत दिनेश माझीले जानकारी दिए । स्वास्थ्यकर्मीका लागि वार्षिक तीन करोडभन्दा धेरै खर्च चाहिनेमा यस वर्ष एक करोड १४ लाख मात्रै आएको उनको भनाई छ ।
अन्य शीर्षकबाट पनि खर्च गर्न नपाइने भएपछि कार्यरत उनीहरूको चार महिनाको तलब रकम भुक्तानी गर्न नसकेको लेखा अधिकृत माझीको भनाइ छ । अहिले गाउँपालिकामा सङ्घीय तहबाट समायोजन भएर आएका ४९ स्वास्थ्यकर्मी कार्यरत रहेका छन् ।
करार तथा ज्यालादारीमा व्यवस्थापन गरिएका अन्य कर्मचारीले भने नियमित तलब भत्ता पाइरहेका बताइएको छन् । स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले गाउँपालिकाबाट मन्त्रालयलाई ताकेता गरिरहेको जानकारी दिए । गएको वर्ष यस्तै समस्या भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा पनि देखिएको थियो ।