सुदूरपश्चिम प्रदेश सरकारलाई विस्तार गर्ने क्रम मुख्यमन्त्री कमलबहादुर शाहले जारी राखेका छन्। । केन्द्रको सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह अल्पमतमा परेका हुन।
नागरिक उन्मुक्ति पार्टीका तीन जना सांसदलाई मन्त्री बनाइँदै गत शुक्रवार मुख्यमन्त्री शाहले मन्त्रीमण्डल पुनर्गठन गरेका थिए । प्रदेशमा सात सांसद रहेको नागरिक उन्मुक्तिका यस अघि नै चार जना मन्त्री छन्। शाहले सोमबार पुनः कैलाली निर्वाचन क्षेत्र नम्बर १ (ख)का सांसद लक्ष्मण किशोर चौधरीलाई विना विभागीय मन्त्री नियुक्त गरेका छन् ।
यसअघि शुक्रवार उन्मुक्तिका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, खुसीराम चौधरीलाई विना विभागीय मन्त्री र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्री नियुक्त गरेका थिए। सोही पार्टीबाट रामेश्वर चौधरी यसअघि नै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रहेका थिए ।
लक्ष्मण किशोर चौधरी मन्त्री बनेपछि सुदूरपश्चिम सरकारमा उन्मुक्तिबाट मन्त्री हुनेको सङ्ख्या पाँच पुगेको हो ।
मुख्यमन्त्री शाह बहुमत पुर्याउनकै लागि अनेक कसरत गरी रहेका छन् तर उनलाई उन्मुक्तिले मात्रै साथ दिए बहुमत पुग्ने छैन । उनले राप्रपा र एक स्वतन्त्र सांसदलाई समेत साथमा लिनु पर्ने छ ।