
काँग्रेस कैलाली जिल्ला कार्यसमितिको बैठकमा बिहीबार दुई नेताहरू बिच माइन्यूट खोसाखोस भएको छ । जिल्ला सभापति तथा राष्ट्रिय सभा सदस्य नारायण दत्त भट्ट र उप–सभापति भीम बडूवाल बिच जिल्ला कार्यसमिति बैठकमा माइन्यूट खोसाखोस भएको हो । बैठकमा सभापति भट्ट र उपसभापति बडूवाल माइन्यूट खोसाखोसमा उत्रिएपछि बैठक बस्न चोसेकाडाँ पुगेको काँग्रेसको जम्बो टिम बैठक नबसी फर्किएको छ। । नेपाली काँग्रेस जिल्ला कार्यसमितिको बैठक कैलालीको मोहन्याल गाउँपालिका–१ चोसे काँडामा राखिएको थियो ।

जिल्ला कार्यसमितिको बैठकमा उप–सभापति भीम बडूवालको नाम माइन्यूटमा उल्लेख नभए पछि विवाद सृजना भएको थियो । बैठक सुरु नहुँदै उप–सभापति भीम बडूवालले माइन्यूट आफ्नो कब्जामा लिएका थिए । आफ्नो नाम किन माइन्यूटमा उल्लेख नगरिएको भन्दै सभापति दत्त भट्ट सँग उप–सभापति बडूवाल झोकिएका थिए । जिल्ला अनुशासन समितिले अनुशासन कारबाहीको लागी प्रदेश अनुशासन समितिमा पत्र पठाएको हुँदा बडूवालको नाम माइन्यूट मा उल्लेख गर्न नसकिने सभापति भट्टको भनाई थियो ।
जब सम्म प्रदेश अनुशासन समिति बाट पत्र आउँदैन तब सम्म नाम माइन्यूटमा उल्लेख नगर्ने भट्टले अडान लिएका छन्। यता बडूवालले भने कारबाहीको लागी सिफारिस गरेको पत्र प्रदेश अनुशासन समितिमा पुगेर हामीहरू बिच एक आपसमा छलफल भएको, यस कुरालाई अगाडी नबढाउने कुरा भएको र समझदारी हुने गरी काम कारबाही अगाडी बढाउने भनेर पठाएको दाबी गरेका छन्।। केही छिन बैठकमा सभापति भट्ट र उप–सभापति बडूवाल बिच बोलाबोल समेत भएको थियो ।

श्रावण २२ गते पार्टी सभापति नारायण दत्त भट्टले कैलाली क्षेत्र नम्बर ४ का नेता द्वय लोकराज पाण्डे आगो) र सुरत बहादुर कार्कीलाई कारबाही गरेपछि उपसभापति बडूवालले कारबाही विधिसम्मत नभएको भन्दै काँग्रेस कैलालीको लेटर प्याडमा सूचना जारी गरेका थिए । त्यही दिन देखी सभापति भट्ट र उप–सभापति बडूवाल बिच खुल्ला रूपमै मतभेद हुन सुरु भएको हो ।

कैलाली जिल्ला अनुशासन समितिले भद्रा २६ गते उप–सभापति बडूवालले जिल्ला कार्यसमितिको पत्र,चलानी नं.र छाप अनाधिकृत रूपमा प्रयोग गरेको भन्दै प्रदेश अनुशासन समिति सुदूरपश्चिम प्रदेशलाई पत्र पठाएको थियो ।



