कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ३ ले आर्थिक सहयोगका लागि छुट्याएको बजेटबाट वडामा रहेका आधारभूत विद्यालयका गरिब तथा टुहुरा ४२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।
वडाले प्रति विद्यार्थी एक थान झोला, एक दर्जन कापी तथा एकजोड स्कुल ड्रेस वितरण गरेको हो।
वडा नम्बर ३ अन्तर्गतका चार वटा सामुदायिक विद्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको अवस्थाका आधारमा नामावली छनोट गरी पेश गरेका थिए।विद्यालयले पठाएको विवरणको आधारमा वडाले ती बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराएको वडा अध्यक्ष कृष्ण प्रसाद गौतमले जानकारी दिए।
सामग्री वितरण कार्यक्रममा नगरपालिकाको शिक्षा शाखाका अधिकृत उमेशराज रेग्मी, वडा सचिव, वडा सदस्यहरू, विद्यालयका प्रतिनिधि तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।





