कैलाली: कैलाली जिल्लाको टीकापुरदेखि बझाङ जिल्लाको उत्तरी सीमा उरै भञ्ज्याङ जोड्ने सेती लोकमार्गको निर्माण कार्य कछुवा गतिमा अगाडि बढी रहेको छ । २०६५/६६ सालमा निर्माण शुरु भएकाे यो लोकमार्ग नेपाल सरकारको प्राथमिकताको आयोजना भनिए पनि काम सुस्त छ ।
पर्याप्त बजेट नहुँदा लोकमार्ग निर्माण शुरु भएको १५ वर्षमा एक सय २६ किलोमिटर मात्र ट्र्याक खुलेको छ । दुई सय चार किलोमिटर लम्बाइ रहेको सडकको ७८ किलोमिटर ट्र्याक खोल्न बाँकी नै रहेको आयोजना कार्यालयले जनाएको छ । कैलाली खण्डमा ७२ किलोमिटरमध्ये तीन किलोमिटर सडकको ट्र्याक खोल्न बाँकी छ ।
कैलालीको टीकापुरदेखि चैनपुरसम्म डोटी, बझाङ र अछाममा रेखाङ्कन गरिएका कतिपय ठाउँमा ट्र्याक खोल्न बाँकी रहेको आयोजना प्रमुख पुजन गिरीले जानकारी दिए । उनका अनुसार अछाममा ८० किलोमिटरमध्ये २३ किलोमिटर, बाजुराको मेडासैनदेखि राना गाउँसम्मको १२ किलोमिटर ट्र्याक खोल्न बाँकी छ । कतिपय ठाउँमा रुख कटानीका कारण ट्र्याक खोल्ने काम अघि नबढेको बताइएको छ ।
चैनपुरदेखि उरै भञ्ज्याङसम्म भौगोलिक विकटताका कारण काम गर्न समस्या भइरहेको आयोजना प्रमुख गिरीले बताए । सेती लाेकमार्गका लागि चालु आर्थिक वर्षमा १४ करोड रुपैयाँ बजेट विनियोजन भएकाे थियो ।
कैलाली, डोटी, अछाम, बझाङ र बाजुरालाई जोड्दै ताक्लाकोट सीमा नाका जोड्ने यो लोकमार्ग उत्तर-दक्षिण जोड्ने रणनीतिक महत्त्व बोकेको सडक हो । यो लोकमार्ग धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण चीनको मानसरोवर पुग्ने छोटो मार्ग हो ।