कुनै पनि नदिजन्य पदार्थ संकलनका लागि करको दर रेट निर्धारण गरिएको हुन्छ । सो कुरा सम्बन्धित निकाय संग गरिएको सम्झौतामा समेत उल्लेख हुन्छ । सम्झौता बिपरित गरे कारबाहीको भागेदार हुनुपर्ने हो । तर कैलालीको घोडाघोडी नगरपालिकामा भने सम्झौताको धज्जी उडाउदै मनोमानी कर संकलन हुने गरेको छ ।
नदिजन्य पदार्थ संकलनका लागि सुदूरपश्चिम प्रदेश सरकाले प्रती घनमिटर २ सय ३९ रुपैया २५ पैसा निर्धारण गरेको छ । यहि दरका आधारमा कर संकलन गर्ने भन्दै श्रीस्थान निर्माण सेवाले घोडाघोडी नगरपालिका संग नदिजन्य पदार्थको ठेक्का सम्झौता गरेको छ । प्रती घनमिटर २ सय ३९ रुपैयाँ संकलन गर्ने सहमति गरेको ठेकेदार कम्पनीले ब्यवहारमा भने यो लागू गरेको छैन । उसले घनमिटरका आधारमा नभइ ट्राली र टिप्परका आधारमा एकमुष्ट १ हजार २ सय देखि ३ हजार २ सय सम्म कर असुल्ने गरेको छ । जसका कारण उपभोक्ता तथा ट्रयाक्टर र टिपर ब्यवसायीहरु मारमा परेका छन ।
कर संकलनमा मनोमानी गर्ने टेकेदार कम्पनीलाई नगर सरकारले पनि मौन समर्थन जनाएको वा शक्तिशाली मानिने ठेकेदारलाई सम्झौता कार्यान्वयन गराउन नसकेको प्रष्टै छ । आफ्नै अघि सम्झौता उल्लंघन भएको टुलुटुलु हेरेर बस्ने तर एक्सनमा उत्रीन नसक्ने नगर सरकारले औपचारिकता निभाउन कहिलेकाही झुक्किएर सम्झौता कार्यान्वयन गर्न पत्राचार गर्ने गरेको छ । तर ठेकेदारले सरकारको पत्रलाई टेरपुछर लगाएका छैनन । अनुगमनका क्रममा नियम बिपरित काम भएको चाल पाएर पनि नगर सरकारका प्रतिनिधि लिखित गुनासो नआएकाले एक्सनमा नगएको बताउछन् ।
चर्को कर असुलीका विरुद्ध कहिलेकाही यस क्षेत्रका राजनीतिक दल पनि बोल्ने गरेका छन । तर उनीहरुको ब्यवहार हेर्दा जनताले भाग पाउने र नपाउनेको संज्ञा दिन थालिसके । उपलब्धि बिहिन तरिकाले बेला बेला कुर्निने दलहरूका ब्यवहारले जनतालाई त्यस्तो नलागोस पनि कसरी ? यता टेकेदार भने यो बिगत देखिको चलन भएकाले घनमिटरका आधारमा कर उठाउन नसकिने बताउदै आएका छन । ट्रलीमा सामान्य ४ घनमिटर भन्दा बढी लोड बोक्न नपाउने हो । यसलाई आधार मान्दा प्रती ट्रली ९ सय ५७ रुपैया कर लिनु पर्ने हो । तर ठेकेदारले ७ घनमिटर सम्म लोड बोक्ने गरेकाले एकमुष्ट १२ सय लिएको पनि दाबी गर्छ्न । यदि यो साचो हो भने चेकजाँचमा बसेका ट्राफिक प्रहरी के गर्दै छन भन्ने अर्को प्रश्न उठने वाला छ ।