डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका – १ सिमचाैर अन्तर्गत पान्सा गाउँघर क्लिनिक र खाल्टी गाउँघर क्लिनिकको उद्घाटन गरिएको छ ।
बिहीबार एक कार्यक्रमका बिच बोगटान फुड्सिल गाउँपालिका वडा नं १ का वडा अध्यक्ष खेम घर्तीमगरले दुई वटै क्लिनिकहरूको उद्घाटन गरेका हुन् । गाउँघरमा हुने सामान्य उपचार देखि जटिल किसिमका घाउ चोट पटकको प्राथमिक उपचार गर्नुका साथै गाउँघरका आमा समूहका बैठकहरू संचालन गर्न सहजताका लागि क्लिनिकहरूको निर्माण गरिएको वडा अध्यक्ष घर्तिमगरले बताए ।
वडा नं १ सिमचाैर र प्रधानमन्त्री रोजगार शाखा बाेगटानको साझेदारीमा उक्त भवनहरू बनाइएको हो । भवनहरू निर्माण सम्पन्न भएसँगै आज स्थानीय आमा समूहलाई उक्त भवनहरू हस्तान्तरण गरिएको छ । अब आमा समूहका बैठक देखि अन्य कार्यक्रमहरू पनि सोही भवनहरूमा संचालन हुने छन्।
कार्यक्रममा वडा नं १ का अध्यक्ष खेम घर्तीमगर प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा रोजगार शाखा संयोजक गीता जिसी, सिमचौर स्वास्थ्य चौकी कार्यालय प्रमुख कृष्ण साउद लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो ।