कैलालीको बर्दगोरिया गाउँ सरकारले बसपार्क निर्माण गर्ने भएको छ । सवारीको अत्यधिक चापले बजार क्षेत्रमा दुर्घटनाको जोखिम बढेपछि गाउँपालिकाले बसपार्क निर्माण गर्न थालेको हो ।
बसपार्कको लागी सरकारी जग्गा अभाव भएको भन्दै गाउँपालिकाले स्थानीय वीरेन्द्र बमको करिब डेढ बिघा क्षेत्रफल रहेको जग्गा भाडामा लिने योजना बनाएको छ । “बजारमा हुने भिडभाड र सवारी चापले दुर्घटनाको जोखिम उच्च भयो । त्यसैमा अटोहरूको अव्यवस्थित पार्किङले थप समस्या देखियो । त्यसैले हामीले त्यो जग्गालाई २५ वर्षमा लागि लिजमा लिने योजनमा छौ । सायद अब केही दिनमा जग्गा धनी सँग सम्झौता गरी निर्माणको काम अघि बढ्छ ।” गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष मिथुन गौतमले भने ।
पूर्वपश्चिम महेन्द्र राजमार्ग सँग जोडिएको उक्त जग्गामा बसपार्क निर्माण भए पूर्व–पश्चिम महेन्द्र राजमार्ग मात्र होइन निकट भविष्यमा उत्तर–दक्षिण सेती लोकमार्गमा सञ्चालन हुने सवारी साधनका लागी समेत सहज हुने देखिन्छ । बसपार्क निर्माण भए दुर्घटनाको जोखिम कम हुने, सवारी व्यवस्थापन सहज हुने तथा बजार क्षेत्र थप व्यवस्थित भई सुन्दर बन्ने अपेक्षा गरिएको छ ।
प्रकाशित :- २०८० कार्तिक २१, गते मंगलवार