कैलाली । सुदूरपश्चिम प्रदेशमा अण्डाको उपभोग बढेको छ।गत वर्ष मात्र ७ करोड ३८ लाख ९९ हजार गोटा अण्डा उत्पादन भएको तथ्यांकले देखाएको छ।
भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रहरु, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका अनुसार अण्डा उत्पादन र खपतमा कैलाली जिल्ला अग्रस्थानमा रहेको देखिएको छ।
गत वर्षमात्रै कैलालीमा ३ करोड ९४ लाख ९० हजार गोटा अण्डा उत्पादन भएर खपत भएको पाइएको छ।
त्यसै गरी अण्डा उत्पादन गर्नेमा कैलालीपछि कञ्चनपुर रहेको छ । उक्त जिल्लामा २ करोड ३९ गोटा अण्डा उत्पादन भएको पाइएको हो। त्यसै गरी सबैभन्दा कम बाजुरामा ४ लाख ८० गोटा मात्रै अण्डा खपत भएको जनाएको छ।
त्यस्तै बैतडीमा ३६ लाख ८, बझाङमा १५ लाख ५० र डडेल्धुरामा ५ लाख ३७ गोटा अण्डा खपत भएको छ। सोही अनुसार डोटीमा ४२ लाख १२ र अछाममा ३४ लाख ४१ गोटा गरी गत वर्ष कुल ७ करोड ३८ लाख ९९ हजार गोटा अण्डा खपत भएको छ।
अण्डा उत्पादनमा कैलाली जिल्लाको हिस्सा सबैभन्दा बढी ५३ दशमलव ४४ प्रतिशत र बाजुरा जिल्लाको हिस्सा सबैभन्दा कम शून्य दशमलव ६५ प्रतिशत देखिएको पाइएको हो ।