
कैलाली जिल्लाको अत्तरियामा आयोजना गरिएको सुदूरपश्चिम प्रादेशिक महोत्सवको आयव्यय विवरण मंगलबार सार्वजनिक गरिएको छ ।

सार्वजनिक गरिएको आयव्यय अनुसार टिकट बिक्रीबाट हुने आम्दानी दोब्बरले बढेको छ । गत वर्ष टिकट बिक्रीबाट २४ लाख ४४ हजार आम्दानी भएकोमा यो वर्ष बढेर ५३ लाख ६८ हजार ५५० पुगेको छ । संघले यो वर्ष २३ लाख ९८ हजार ७० रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष १० लाखको हाराहारीमा मात्र नाफा आर्जन भएको थियो ।
उद्योग वाणिज्य संघ अत्तरियाका कोषाध्यक्ष हेमराज भण्डारीले महोत्सवमा ९० लाख ३० हजार ४ सय १० रुपैयाँको कारोबार भएको बताए । उनले महोत्सव सञ्चालनका लागि ६६ लाख ३२ हजार ३४० रुपैयाँ खर्च भएको बताए । जसमा कलाकारको खर्च १७ लाख ३८ हजार ८ सय, टेन्ट ८ लाख ७५ हजार, प्रिन्टिङ ६ लाख ८४ हजार ७२६, अतिथि सत्कार, उद्घोषक २ लाख ६५ हजार ८ सय, आयोजक खाना खर्च २ लाख २७ हजार ४७६ भएको आयव्यय विवरण सार्वजनिक गरिएको हो । महोत्सवको १५ लाख ३५ हजार १३७ हजार उठाउन बाँकी रहेको र पाँच लाख ८७ हजार २६१ तिर्न बाँकी रहेको संघले जनाएको छ ।
