कैलालीको गौरीगङ्गा नगरपालिका–७ का सुवन चौधरी अहिले पलम्बिङ पेसामा आबद्ध हुनुहुन्छ । सुवनले मासिक २५ हजार रुपैयाँ भन्दा बढी आम्दानी गरिरहनु भएको छ ।
केही वर्षअघि गौरीगङ्गा ७ स्थित सुनपाल सामुदायिक वनले आयोजना गरेको सिपमूलक तालिममा सहभागी भएर उहाँले यो सीप सिक्नुभएको थियो ।
सीप सिकेपछि धेरैले वैदेशिक रोजगारी रोजे सुवन भने यही गाउँमै बसेर काम गरिरहनु भएको छ ।“सँगै तालिम लिने साथीहरू कोही तेस्रो मुलुक गए, कोही भारततिर लागे, म भने यतै बसेर काम गर्छु, खुसी पनि छु,” सुवनले भन्नुभयो । हाल उहाँ ड्राइभिङ तालिम पनि लिइरहनु भएको छ ।
सुवन जस्तै गौरीगङ्गा–८ की मनीषा विष्ट पनि दैनिक ब्युटिसियन तालिम लिन जानुहुन्छ ।
अहिले सुनपाल सामुदायिक वनले सुवन र मनीषा जस्तै ९७ जनालाई सिपमूलक तालिम प्रदान गरिरहेको छ ।
वनले ३ महिने ब्युटिसियन र ४५ दिने ड्राइभिङ तालिम सँगै , ३ महिने कम्प्युटर बेसिक तालिम, सिलाई कटाई तालिम, टायल मार्बलिङ र प्लम्बिङ तालिम दिइरहेको सुनपाल सामुदायिक वनका अध्यक्ष राम बहादुर कामीले बताउनु भयो ।
सुनपाल सामुदायिक वनमा गौरीगङ्गा ७ र ८ का उपभोक्ताहरू रहेका छन् । समूहमा आबद्ध उपभोक्ता घरधुरी मध्येबाट इच्छुक युवा युवतीहरूलाई तालिम दिई रहेको अध्यक्ष कामीले बताउनुभयो ।
वन ऐन अनुसार सामुदायिक वन उपभोक्ता समूहले कार्य योजना बमोजिम आर्जन गरेको वार्षिक आयबाट कम्तीमा २५ प्रतिशत रकम वनको विकास, संरक्षण र व्यवस्थापन कार्यमा खर्च गरी बाँकी रहेको रकमको कम्तीमा पचास प्रतिशत रकम सम्बन्धित स्थानीय तह सँग समन्वय गरी गरिबी न्यूनीकरण, महिला सशक्तीकरण तथा उद्यम विकास कार्यमा खर्च गर्नुपर्ने व्यवस्था रहेको छ । सोही अनुसार सिप मूलक तालिम दिन थालिएको अध्यक्षले बताउनु भयो ।
अध्यक्ष कामीका अनुसार आर्थिक वर्ष २०८१।८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सिलाई कटाइका लागि २ लाख १० हजार, ड्राइभिङका लागि ४ लाख, ब्यूटिसियनका लागि १ लाख ७० हजार, कम्प्युटर बेसिकका लागि १ लाख २५ हजार ,प्लम्बिङका लागि २ लाख ५० हजार र टायल मार्ब फिटिङ तालिमका लागि २ लाख गरी जम्मा १३ लाख ५५ हजार रकम छुटयाईको छ ।
रोजगारका लागि जुन सुकै ठाउँमा गए पनि सहजै रोजगारी र राम्रो ज्याला पाउन भन्ने उद्देश्यका साथ तालिम दिइरहेको वनका अध्यक्ष कामीले बताउनु भयो ।
उहाँले भन्नुभयो “हामीले तालिमको आयोजना आफ्नै ठाउँमै रोजगारीको सम्भावना बढाउनका लागि पनि गरेका हौँ। यदि विदेश जानुपर्ने भए पनि सीप सिकेर जान सकियोस् र काम खोज्न कठिनाइ नहोस् भन्ने सोचले यो तालिम सुरु गरेका हौँ ।”
तालिममा एकल महिला र विपन्न परिवारहरूलाई प्राथमिकतामा राखिएको छ । तालिम सँगै सुनपालले परम्परागत पेसा व्यवसाय संरक्षणका लागि अनुदान दिने निर्णय समेत गरेको छ ।
अध्यक्षका अनुसार आरन व्यवसाय, बेत बाँस तथा चोयाबाट सामाग्री बनाउने, थारु समुदायको डेलुवा, ढकिया, हेक्का, डिलिया बनाउने, दुना टपरी र हाते होजियारी व्यवसाय गर्नेहरूका लागि समेत आवश्यक सामाग्री खरिद अनुदान दिने गरी आवेदन माग गरिएको छ ।
उपभोक्ताहरूलाई रोजगार तर्फ उन्मुख गराउन प्रयास गरिरहेको सुनपालले गौरीगङ्गामा रहेको खप्तड बहुमुखी क्याम्पसलाई एक थान ल्यापटप र पाठ्य पुस्तक खरिदका लागि समेत २ लाख दिने निर्णय गरेको छ ।



