नेपाल विद्यार्थी सङ्घ घोडाघोडी नगर कमिटीले घोडाघोडीका सामुदायिक विद्यालयहरूमा अनुगमन सुरु गरेको छ । पालिका भित्रमा पर्ने ५१ वटा सामुदायिक विद्यालयमा गएर विद्यार्थी सँग अन्तरक्रिया तथा समस्याका विषयमा अनुगमन गर्ने कामको थालनी गरेको हो । पहिलो दिन सुखड स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यार्थी सँग अन्तरक्रिया गरेको नगर कमिटीले जनाएको छ ।

विद्यार्थीसँग विद्यालयका समस्या, समाधान र गुणस्तरीय शिक्षा बारे छलफल समेत गरिएको छ । साथै विद्यालयमा भइरहेको गतिविधिको बारेमा पनि विद्यार्थीहरू सँग छलफल गरिएको नगर कमिटी अध्यक्ष दीपेश बोहराले जानकारी दिए । विद्यार्थी सँग अन्तरक्रिया गर्दा विभिन्न समस्याहरू उनीहरूले सुनाएको उनले बताए । गर्मियाम पढ्न समस्या भएको, शैक्षिक सामाग्रीहरूको कमी, पठन पाठन नियमित नभएको, नेपाली र अङ्ग्रेजी माध्यमको पठन पाठन एउटै कोठामा राखेर पठाउने गरेको र शिक्षकहरूले राम्रो सँग नपढाएको जस्ता समस्या सुनाएका थिए ।
विद्यालयहरूमा अनुगमनको क्रममा सटर बाट भाँडा उठाएको बिल दिएको तर लेजरमा दर्ता नभएको जस्ता समस्या देखा परेको बताइएको छ । विद्यार्थीहरूका समस्या तथा विद्यालयमा भइरहेको गतिविधिको बारेमा सम्बन्धी पक्ष सँग बसेर छलफल गरिएको बताइएको छ । त्यस विषयमा सम्बन्धी पक्षले समस्यालाई समाधान गरेर अगाडी बढ्ने कुरा बताएको नेपाल विद्यार्थी सङ्घ घोडाघोडी नगर कमिटीले जनाएको छ ।
पालिका भित्र रहेका सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तरलाई प्रभावकारी बनाउन कसरी सकिन्छ भनेर स्थलगत अवस्था बुझ्न अनुगमन गरिएको नेपाल विद्यार्थी सङ्घले जनाएको छ । तत्काल सुध्रिन र जिम्मेवारी निभाउन अनुरोध समेत गरिएको र देखिएका विभिन्न समस्याहरू यथाशीघ्र समाधान गर्न सुझाव तथा निर्देशन दिएको नगर कमिटी सचिव प्रशान्त थापाले जानकारी दिए ।



