कैलालीको घोडाघोडीमा निर्माण कम्पनीका ठेकेदारको मनपरीले सम्झौताको झण्डै चार वर्ष हुँदा समेत नगरपालिका भित्रका चार ओटा सडक कालो पत्रेको काम अलपत्र परेको छ ।

निर्माण कम्पनी श्री के एस टेडी मणिलेक जोइन्ट भेन्चर, धनगढी कैलालीले नगरपालिकासँग २०७८ माघ २३ गते नगरभित्रका चार ओटा सडक संयुक्त रूपमा कालो पत्रे गर्ने भन्दै सम्झौता गरेको थियो । जसको निर्माण अवधि एक वर्ष मात्रै थियो । त्यस आधारमा हेर्ने हो भने कम्पनीले नगरपालिकासँग गरेको सम्झौता २०७९ माघ २३ गते सम्पन्न भई सकेको थियो । पछि नगरपालिकाले ६ महिना समयावधि थप गरिदियो । तर समयावधि थप गरे पनि निर्माण कम्पनीले कुनै कार्य अगाडि बढाउन सकेन् ।
नगरपालिका भित्रका वडा नं. १ र ८ जोड्ने सुखड–लठुवा सडक, डोके बजारदेखि वडा नं. ५ को कार्यालयसम्म जोड्ने सडक, महेन्द्र राजमार्गदेखि माघी होमस्टे जाने सडक वडा नं.४ र महेन्द्र राजमार्गदेखि डिभिजन वन कार्यालय हुँदै तुलसीपुर सामुदायिक वनको पूर्व पट्टी वडा नं. १० को सडक यी चार ओटै सडक कालोपत्रे गर्नका लागि श्री के एस टेडी मणिलेक जोइन्ट भेन्चर, धनगढीले २ करोड ४१ लाख ३५ हजार १ सय ८५.४८ रुपैयाँमा सम्झौता गरेको थियो । सम्झौता अवधि सम्पन्न भएर नगरले थप गरेको समयावधि सकिदा समेत ठेकेदारले काम नगरेपछि आफूहरूले कारबाही प्रक्रियाका अगाडी बढाए पनि पनि अन्तिममा आएर सङ्घीय सरकारले नै नगरपालिकालाई कुनै जानकारी नै नगराई ६ महिना समय थप गरी दिएको वडा नं. ५ का वडा अध्यक्ष लोक बहादुर चन्दले बताए ।

‘हामीले काम कारबाही प्रक्रियाका लागि फाइल अगाडि बढाइ सकेको अवस्थामा अन्तिममा आएर हामीलाई नै थाहा नदिएर सङ्घीय सरकारले ६ महिना समयावधि थप गरिदियो’, उनले भने, ‘हामी जनताको प्रत्यक्ष सम्पर्कमा हुने भएकाले जनताले हामीलाई नै भन्ने हुन काम गरेन, ठेकेदारलाई कारबाही गरेन भनेर तर हामीले चाहेर पनि केही नहुँदो रहेछ । आखिर आदेश त केन्द्र सरकारले नै गर्दो रहेछ । हामीले चाहेको जस्तो हुने भए त हामीले कारबाही प्रक्रिया धेरै अगाडि बढाइ सकेका थियौँ । तर आदेश माथिबाट आउँछ त हामीले के गर्ने ? उनीहरूले समय किन थप गरिदियो ? मेरो प्रश्न पनि यही निर हो ।’

हाल सडकमा पहिले हालेको ग्राभेल मात्रै छ । त्यस यता निर्माण कम्पनीले कुनै काम अगाडि बढाउन सकेको छैन । तर, वडा नं. १ र ८ जोड्ने सुखड–लठुवा खण्डमा भने प्राइम हानेर पनि कालोपत्रेको काम भने अगाडी बढ्न सकेको छैन । निर्माण कम्पनीका सञ्चालक तथा ठेकेदार हुन सिद्ध ओली । हामीले ओलीलाई बारम्बार टेलिफोन मार्फत सम्पर्क गर्न खोज्दा पनि उनले फोन उठाएका छैनन् । घोडाघोडी नगरपालिकाका इन्जिनियर नवीन मल्लले ठेकेदारले धेरै ठाउँमा ठेक्का लिने र अन्तिममा काम गर्न नसक्दा सडक कालोपत्रेको काम अलपत्र परेको बताए । मल्लले अब बाँकी प्रक्रिया कार्यपालिकाले जे गर्छ त्यही अनुसार अगाडि बढ्ने बताए ।
सम्झौता गरेको लामो समय बितिसक्दा समेत कुनै कार्य अगाडि नबढाएका ओलीले वर्षाको समयमा प्राइम हालेका थिए तर वर्षा भएका कारण निर्माण कार्य अगाडि बढाउन नसकेको भन्दै गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिएका ओलीले हालसम्म पनि काम अगाडी बढाएका छैनन् ।

नगर प्रवक्ता घनश्याम ओझाले भने मङ्गलवार मात्र ठेकेदार सम्पर्कमा आएको जानकारी दिए । लामो प्रयासपछि ठेकेदार साप सम्पर्कमा आउनुभएको छ, अब सडक कालोपत्रेको काम अगाडी बढ्छ उनले भने ।
यी चार सडक कालोपत्रेको ठेक्का अघिल्लो कार्यकालका नगर प्रमुख ममता प्रसाद चौधरीको पालामा भएको थियो । दोस्रो कार्यकालका जनप्रतिनिधिको कार्यकाल आधाभन्दा बढी हुँदा समेत काम अघि नबढ्दा जनताले सास्ती खेप्नु परेको छ ।