
कैलालीको मध्यवर्ती क्षेत्र सुखडमा रहेको श्री सप्तश्री माध्यमिक विद्यालयका २३ जना विद्यार्थी पहिलो पटक स्काउटद्वारा दीक्षित भएका छन् । विद्यालयमा अध्ययनरत १२ जना छात्र र ११ जना छात्रा गरी २३ जना विद्यार्थी दीक्षित हुन योग्य भएपछि शुक्रवार विद्यालयमा एक कार्यक्रमका बिच दीक्षित भएका हुन् ।


विद्यालयका सहायक प्रिन्सिपल लाल बहादुर बोहराको अध्यक्षता तथा घोडाघोडी नगरपालिकाका नगर प्रमुख तथा नगरका स्काउट संरक्षक खडक बहादुर रावतको प्रमुख आतिथ्यतामा स्काउट दीक्षान्त समारोह सम्पन्न भएको हो । विद्यालयका स्काउटर शिक्षिका कविता सिंहका अनुसार २३ जना विद्यार्थीहरू दीक्षित भएका छन् उनका अनुसार विभिन्न चरणमा गरी तालिममा सहभागी भई दीक्षित हुन योग्य भएपछि उनीहरूलाई दीक्षित गराइएको हो ।
कार्यक्रमका प्रमुख अतिथि रावतले स्काउट एक अनुशासित, मर्यादित र चरित्रवान् व्यक्ति उत्पादन गर्ने सामाजिक संस्था भएकोले सबै दीक्षित विद्यार्थी मर्यादित भएर लाग्न अनुरोध गरे । उनले नेपालको प्रजातन्त्रको उदयपछि देशभर शैक्षिक जागरणका निम्ति स्काउटको स्थापना भएको र त्यस मार्फत जागरणका अभियानले प्रभावकारी काम गरेको समेत बताए । उनले घोडाघोडी नगरपालिकाका स्काउट दलमा आबद्ध शिक्षकहरूले स्काउट क्रियाकलापमा गरेका कामको प्रशंसा गर्दै सरकारी विद्यालय होस वा संस्थागत विद्यालय होस स्काउट क्रियाकलापको लागि नगर सरकार उत्तिकै जिम्मेवार रहेको बताए ।

उक्त विद्यालयका स्काउट संरक्षक तथा सहायक प्रिन्सिपल लाल बहादुर बोहराले स्काउटिङले शैक्षिक गतिविधि मार्फत विधार्थीहरूलाई देशभक्त र वफादार बनाउँदै लैजाने बताए ।

कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर सिंह, सो विद्यालयका शिक्षक शिक्षिका, सञ्चारकर्मी लगायतको उपस्थित रहेको थियो ।

