सुदूरपश्चिम प्रदेशको गौरवको आयोजना सेती लोक मार्ग अन्तर्गत टिकापुर-दुर्गौली-प्रतापपुर-बौनिया सडक खण्डको स्तर उन्नतिका लागि करिब ५० करोड विनियोजन भएको छ । गत माघ १० गते बसेको मन्त्री स्तरको निर्णयले सुदूरपश्चिमको सेती लोक मार्गको लागि ४९ करोड ९९ लाख सहित देश भरका अन्य योजनाका लागि ७० करोडको स्रोत सुनिश्चित गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
रकम सुनिश्चित भए सँगै सेती लोक मार्गको टिकापुर-बौनिया सडक खण्डको स्तर उन्नतिको काम चालू आर्थिक वर्ष २०८०/०८१ बाट सुरु हुने भएको छ । भारतको सीमा क्षेत्र खक्रौला घाटबाट चीनको सीमा क्षेत्र ताक्लाकोट जोड्ने त्रिदेशीय यो सडक अन्तर्गत विगतमा टिकापुर-बौनिया खण्डको सर्भे हुन सकेको थिएन । निवर्तमान सङ्घीय सांसद झपटबहादुर रावलले आफ्नो कार्यकालमा कोरोना कहरका बिच यो खण्डलाई सर्भे गराएका थिए । उनैको सक्रियताले यो सडक खण्डले पूर्णता पाउने भएको छ ।
उनी पदमा नहुँदा पनि आफ्नो क्षेत्रको विकासका लागि निरन्तर लागि परेका छन् । उनले केही महिना अघि मात्रै चिसापानी-कुइने सडक खण्डको स्तर उन्नति, लम्की-टिकापुर सडक र डुडेझारी-टिकापुर सडकको स्तर उन्नति तथा डुडेझारी औद्योगिक क्षेत्रको विकास लगायत अन्य विकासका योजना कार्यान्वयन लागि निरन्तर सरकारको ध्यानाकर्षण गराएका थिए । पदमा नहुँदा पनि विकास प्रति सक्रिय उनको चर्चा चुलिएको छ ।
प्रकाशित :- २०८० माघ ११, गते बिहीबार