
बैतडीको डिलासैनी गाउँपालिका वडा नं. ४ मा घर माथिबाट पहिरो खस्दा एक घर पुरिएको छ ।


गएराति १२ बजेको समयमा घरमाथिबाट आएको पहिरोमा परि डिलासैनी-४,जोखल्लीका सुरेन्द्र रोकायाको घर पुरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुङ्गानाले जानकारी दिए ।
पहिलादेखि घर पहिरोको जोखिममा रहेको र वर्षा सुरु हुने बित्तिकै घरपरिवार र गाईबस्तु आफन्तको घरमा सारी सकेकाले मानवीय तथा पशुचौपायामा क्षति नभएको पनि प्रहरी निरीक्षक ढुङ्गानाले बताएका छन् । प्रहरीका अनुसार रोकायाको परिवार अहिले आफन्त पदमबहादुर रोकायाको घरमा बसिरहेको छ । दुईतले कच्ची घर पहिरोले पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

पहिरोले घर पुरिएपछि घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा सबै नष्ट भएका बताइएको छ। पहिरोले घर पुरिएको जानकारी आएपछि घटनास्थलतर्फ प्रहरी टोली खटिएको र क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक ढुङ्गानाले बताए।



