कैलालीको धनगढीमा शनिबार अज्ञात समूहले इन्धन बोक्ने ट्याङ्करका चालक र सहचालकहरुमाथि धारिलो हतियार (खुँडा) प्रहार गरेर घाइते बनाएका छन् । शनिबार राती करिब ११ बजे तिर अज्ञात समूहले चालक र सहचालकमाथि हतियार प्रहार गरेका थिए ।

हतियारधारी समूहको आक्रमणबाट ना ६ ख ९४०६ नम्बरको ट्याङ्कर चालक हरेन्द्र देउवा र सहचालक अनिल देउवा घाइते भएका जिल्ल प्रहरी कार्यालय कैलालीले जनाएको छ । हाल घाइते दुबै जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिई सकेको छ, भने एक जना अझै फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ट्याङ्कर पार्किङको विषयमा दुई पक्षबीच विवाद हुँदा आक्रमण र तोडफोड भएको थियो ।
घटनामा संलग्न दुई जनालाई आइतबार बिहान करिब साढे तीन बजेतिर नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । उक्त समयमा ट्याङ्कर सहचालक डोटीको जोरायल गाउँपालिका-१ का १८ वर्षीय विक्रम मल्ल र डोटीकै दिपायल सिलगढी नगरपालिका-३ का १९ वर्षीय अरुण बोगटी पक्राउ परेका थिए । त्यसै गरि घटनामा संलग्न कैलालीको धनगढी उपमहानगरपालिका-२ का अन्दाजी १५/१६ वर्षीय डोरेमन भन्ने पुष्कर धामीलाई आइतबार बिहान करिब साढे १० बजे पक्राउ गरिएको जनाएको छ ।

प्रहरीले विहान करिब ११ बजेतिर सो घटनामा संलग्न धनगढी उपमहानगरपालिका-२ सन्तोषी टोलका २३ वर्षीय मुस्कान सिंहको खोजीकार्य गर्ने क्रममा उनले चलाएको से ६ प ९३२७ नम्बरको मोटरसाइकल र उनले प्रयोग गरेको जुत्ता उनकै घरबाट नियन्त्रणमा लिएर प्रहरी चौकीमा राखिएको छ । चालक सिंह भने फरार छन् ।

उक्त घटनामा केही ट्याङ्करहरूमा पनि तोडफोड गरिएको प्रहरीले जनाएको छ । आक्रमणबाट ट्याङ्करको अघिल्लो भागको सिसा फुटेको छ ।
शनिबार राति धनगढी-२ रोड हाउस क्याफे नजिकै ट्याङ्कर पार्किङ स्थलमा से ६ प ९३२७ नम्बर बुलेट मोटरसाइकल र अल्फाबेट नखुलेको ३०३० नम्बरको मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ का २४ वर्षीय ट्याङ्कर चालक हरेन्द्र देउवा र सहचालक कैलालीको गोदावरी नगरपालिका-४ का २२ वर्षीय अनिल देउवामाथि आक्रमण भएको थियो ।
चालक हरेन्द्रको दायाँ हातको नाडी र बायाँ खुट्टामा चोट लागेको छ भने सहचालक अनिलको बाँया हात र नाडीमा चोट लागेको प्रहरीले बताएको छ । ना ८ ख १४२५, ना ४ ख ३९२०, ना ४ ख २९६५ र ना ६ ख ९४०६ नम्बरको ट्याङ्करलाई पार्किङ गरिराखेको अवस्थामा ढुङ्गा प्रहार गर्दा अगाडिको सिसा फुटेको छ । घटनाको जानकारीपछि प्रहरी चौकी त्रिनगरबाट प्रहरी नायब निरीक्षक शैलेन्द्रबहादुर चन्दको कमान्डमा ५ जनाको प्रहरी टोली घटना स्थालतर्फ खटिएको थियो ।
