कैलालीको बर्दगोरिया गाउँपालिकामा निर्माण सम्पन्न भएको पक्की पुलको बिहीबार गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले उद्घाटन गरेका छन् । सेती लोक मार्ग अन्तर्गत पर्ने काँडा खोलामा बनेको ८५ मिटर लामो पुल अनक कन्स्ट्रक्सनले निर्माण गरेको हो ।
१२ करोड ४० लाख लागतको पुल २०८१ चैत्र १३ गते सम्पन्न गर्ने गरी २०७९ साल असार २९ गते अनक कन्स्ट्रक्सन काठमाण्डौले सम्झौता गरेको थियो । तर निर्माण कम्पनीले सम्झौता अवधि भन्दा १५ महिना अघि नै निर्माण सम्पन्न गरेको छ । उत्कृष्ट काम गरेको भन्दै गाउँ सरकारले उद्घाटन कार्यक्रम मार्फत निर्माण कम्पनीलाई सम्मान समेत गरेको छ ।
यो पुल निर्माण भए सँगै बर्दगोरिया र मोहन्याल गाउँपालिका सँगै पहाडी जिल्लाका बासिन्दाहरूलाई समेत आवागमनमा सहज हुने भएको छ । सेती लोक मार्गको बर्दगोरिया क्षेत्रमा पर्ने काँडा खोलामा पुल निर्माण सम्पन्न भएको छ भने कुहिरा खोलामा पुल निर्माणको काम सुरु भएको छ । यस्तै सिसौरा खोलामा पुल निर्माणका लागी टेन्डर प्रक्रिया अघि बढेको जनाइएको छ ।
प्रकाशित :- २०८० माघ ४, गते बिहीबार