कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार साँझ पदबाट राजीनामा दिएका छन्। आज प्रदेश प्रमुख नजिर मियाँको निवासमा पुगेर मुख्यमन्त्री शाहले राजीनामा पत्र बुझाएका हुन्।
प्रदेश सभामा आज विश्वासको मत लिने तयारीमा रहेका शाहले अन्तिममा आएर बहुमत नपाउने निश्चित भएपछि राजीनामा दिएका हुन्।
दिउँसो ३ बजेलाई बोलाईएको प्रदेश सभा बैठकको समय सार्दै साँझ ५ बजेका लागि आह्वान गरिएको थियो । उक्त बैठकमा विश्वासको मत लिने कार्यतालिका रहेको थियो। तर ५ बजेपनि मुख्यमन्त्री शाहको पक्षमा बहुमत नजुटेपछि शाह राजीनामा बुझाएन बाध्य भएका हुन्।
नागरिक उन्मुक्ति र काँग्रेसको मात्र मुख्यमन्त्री शाहलाई समर्थन रहेको थियो। तर, नागरिक उन्मुक्ति पार्टीका दुई सांसदले समेत मत नदिने भएपछि राप्रपा र स्वतन्त्र प्रदेश सभा सदस्यले पनि मत नदिने निश्चित भएपश्चात मुख्यमन्त्री शाह सङ्कटमा परेका थिए।
विश्वासको मत दिने नदिने विषयमा नागरिक उन्मुक्ति पार्टीभित्र चर्को मतभेद भएको र स्वतन्त्र सांसदले समेत विश्वासको मत नदिने भएपछि मुख्यमन्त्री शाहले राजीनामा दिएका हुन्।
गत फागुन २३ गते माओवादी केन्द्र र एकीकृत समाजवादीले प्रदेशका मुख्यमन्त्री शाहलाई दिएको समर्थ फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए।
सरकारलाई दिएको समर्थन कुनै पनि एक पार्टीले फिर्ता लिएपछि सदनबाट ३० दिन भित्र विश्वासको मत लिनु पर्ने कानुनी प्रावधान रहेको छ।
अब सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, एकीकृत समाजवादी पार्टीसहितको नयाँ गठबन्धनको प्रदेश सरकार गठनका लागि बाटो खुल्ला भएको छ।
यहाँ काँग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र १ जना स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन्।
५३ सदस्यीय प्रदेश सभामा बहुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको मत आवश्यक पर्ने गर्छ ।