
काठमाण्डौ । गत साउनमा पार्टी एकीकरण गरी नागरिक उन्मुक्ति पार्टीमा आएका नेपाल सद्भावना पार्टी पृष्ठभूमिका नेताहरू पार्टी भित्रको विवादले एकता नै भङ्ग हुन सक्ने चेतावनी दिएका छन् ।

उन्मुक्तिभित्र संरक्षक रेशम चौधरी र संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठबिचको विवादका कारण सद्भावना पार्टी पृषठभूमि भएका नेताहरु अलमलमा परेका हुन् ।
नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबिच गत साउन १४ गते एकीकरण भएको थियो । नेपाल सद्भावना पार्टीका तत्कालीन अध्यक्ष एवं हाल नागरिक उन्मुक्ति पार्टीका उपाध्यक्ष समेत रहेका रामकुमार महतोले पार्टीको विवाद रेशम चौधरी र रञ्जिता श्रेष्ठले चाँडै नमिलाए यो एकता भङ्ग हुने चेतावनी दिएका समेत दिएका छ ।
उन्मुक्ति पार्टीभित्र उत्पन्न भएको विवाद २०८० मै समाधान गर्न आग्रह गर्दै उनले २०८० मा विवाद समाधान भएन भने नयाँ वर्षमा दुई पार्टीबिच भएको एकता भङ्ग हुने उनको चेतावनी छ ।
उन्मुक्ति पार्टीसँग एकता गर्दा नेपाल सद्भावना पार्टीबाट केन्द्रीय समितिका ५१ जना र १२ वटा जिल्ला अध्यक्ष सो पार्टीमा समावेश भएका थिए ।

त्यसमध्ये हालसम्म पार्टीको महाधिवेशनबाट ३-४ जनालाई मात्र व्यवस्थापन गरिएको छ । महाधिवेशनपछि अरु बाँकीलाई व्यवस्थापन गर्ने भनिएको थियो । नेपाल सद्भावना पार्टीबाट नागरिक उन्मुक्ति पार्टीमा गएका राजेश चौधरीले महाधिवेशनपछि नेता तथा कार्यकर्तालाई व्यवस्थापन गर्ने भनिए पनि पार्टीमा विवाद भएका कारण कुनै काम अगाडि नबढेको प्रस्ट्याएका छन् ।
आफूहरूले उन्मुक्ति पार्टीसँग एकीकरण गरे पनि अहिलेको विवादमा तटस्थ बसेको चौधरीले बताए । पार्टीको विवाद भन्दा पनि श्रीमान्–श्रीमतीको झगडा जस्तो देखिएको भन्दै उनले त्यही भएर आफूहरू कसैको पक्षमा नलागेको प्रस्ट पारेका छन् ।
नेपाल सद्भावना पार्टीबाट गएका सबै नेता तथा कार्यकर्ता अहिले सो पार्टीमा तटस्थ बसेका छन् । उनीहरूले चाँडै विवाद समाधान गर्न दबाब दिइरहेका छन् ।
नागरिक उन्मुक्ति पार्टीको विवादलाई केही दिन हेर्छौं, समाधान भएन भने कुनै विकल्पमा जान्छौँ,’ चौधरीले भने, ‘उहाँहरूको झगडामा हामी आफ्नो राजनीतिक करिअर दाउमा राख्दैनौँ, कुनै न कुनै बाटो लिन्छौँ ।’