
घोडाघोडीमा पर्यटन मन्त्रीको अनुगमन,प्रदेश अभिभावकत्व ग्रहण गरी विकास गर्न सरोकारवालाको सुझा

सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामीले विश्व रामसार क्षेत्रमा रहेको घोडाघोडी तालको संरक्षण र प्रचारप्रसार पर्याप्त हुन नसकेको बताएका छन् ।

बिहीबार आकस्मिक निरीक्षणका क्रममा घोडाघोडी पुगेका मन्त्री धामीले पर्याप्त सम्भावना हुँदाहुँदै पनि ताल क्षेत्र ओझेलमा परेको बताए ।

‘पर्यटकीय क्षेत्रको दृष्टिकोणले हेर्दा घोडाघोडी सुदूरपश्चिमकै पहिलो पर्यटकीय क्षेत्र हो’, मन्त्री धामीले भने, ‘घोडाघोडीमा बहुआयामिक क्षेत्रहरू छन् । यो क्षेत्र सुदूरपश्चिममै पहिलो प्राथमिकतामा पर्छ । यसको विकासका लागि सबै स्थानीय एकजुट हुन आवश्यक छ ।’

घोडाघोडी आर्थिक रुपमा पनि निकै महत्त्वपूर्ण रहेको उनले बताए । ‘आन्तरिक स्रोतहरू छन्, त्यसलाई व्यवस्थित बनाउँदै लैजानुपर्छ । राज्यको लगानी भएको छ । तर, एकद्वार प्रणालीबाट व्यवस्थित भएको देखिँदैन’, मन्त्री धामीले भने ।
अनुगमनका क्रममा स्थानीय राजनीतिक दल तथा अगुवाहरूले घोडाघोडीलाई प्रदेश मातहत ल्याएर विकासका काम अघि बढाउन मन्त्री धामीलाई सुझाव दिए ।

नेकपा एमालेका जिल्ला कमिटी सदस्य तारा सुवेदीले माथिल्लो निकायले घोडाघोडी ताललाई नियमन गरेर सङ्घीय सरकारको समन्वयमा प्रदेशले नै पर्यटकीय विकास बोर्ड गठन गर्नुपर्ने बताए ।
घोडाघोडीको विकासका लागि धेरै रकम खर्च गरेर मास्टर प्लान बनिसकेको बताउँदै माओवादीका घोडाघोडी नगर कमिटी अध्यक्ष खगेन्द्र हमालले भने, ‘सोही मास्टर प्लानअनुसार प्रदेश सरकारले लगानी गर्नुपर्छ र विकास गर्नुपर्छ ।’
सामुदायिक वन उपभोक्ता महासंघ घोडाघोडी नगर अध्यक्ष रमेश बस्नेतले एकद्वार प्रणालीबाट घोडाघोडीको विकास गर्नुपर्ने बताए ।

