जसको कोही छैन त्यसको हामी छौ अभियानले सुर्खेतको राजी बस्तीमा सहयोग गरेको छ । जिल्लाको चौकुने गाउँपालिका वडा नम्बर ९ घाटगाउँका २ सय राजी परिवारलाई खाद्यान्न र नगद सहयोग गरेको हो ।
अभियान मार्फत लम्किमा रहेको कैलाली गुरुकुल इङ्लिस मिडियम स्कुलले ८ कुण्डल चामल सहित नगर ८ हजार ५ सय सहयोग गरेको छ । यस्तै लम्किमै रहेको बुटवल फर्माले साढे २ कुण्डल चामल, पत्रकार वीरेन्द्र रावलले ५० पोका तेल, धर्मराज भण्डारीले ५० पोका नुन र सुरेश खड्काले २० थान खादा अभियानलाई उपलब्ध गराएका थिए ।
बेरोजगारी, अशिक्षा र भोकमरीको उच्च जोखिममा रहेका राजी समुदायको दैनिकी सहज बनाउन सहयोग वितरण गरेको अभियानका संयोजक नेत्र भण्डारीले बताए । “अभियानले मात्र होइन सहयोग हस्तान्तरणका लागि यो वडाका अध्यक्ष ज्यूले पनि सहकार्य, समन्वय र व्यवस्थापन गति महत्त्वपूर्ण सहयोग गर्नु भएको छ । राजी समुदायको उत्थान गरी राज्यको मूल प्रवाहमा अर्थपूर्ण सहभागिता गराउने वातावरण निर्माण गर्न सरकार तथा हामी आम सरोकारवालाहरू जिम्मेवार र गम्भीर बन्नु पर्छ।” उनले भने ।
विगतको तुलनामा राजी समुदायमा शिक्षाको अवस्था सुधारोन्मुख देखिए पनि अपेक्षाकृत उपलब्धि भने हासिल हुन सकेको छैन । कसैले चाहेमा यो समुदायको जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न सकिने कैलाली गुरुकुल स्कुलका सञ्चालक माधव थापाले बताए । “हुन त हामी टाढा छौ । यदि यहाँहरूले चाहनु भयो भने र यहाँको जेहनदार विद्यार्थी कोही छ भने संस्थाको तर्फबाट छात्रवृत्तिका लागि हामी तयार छौ ।” उनले भने ।
कर्णाली र भेरी किनारमा बसोबास गर्ने राजी समुदाय माछामा आश्रित छ । तर माछालाई व्यावसायिक रूपमा भने अङ्गाल्न सकेका छैनन् ।
प्रकाशित :- २०८० पुष १६, गते सोमबार