
कञ्चनपुर : कञ्चनपुर जिल्लामा पछिल्लो समय जुवा खेल्ने र खेलाउने समुह जताजतै फेला पर्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक वर्षको अवधिमा जुवा खेल्ने र खेलाउने गरेर १ सय ८८ जनालाई जुवाखालबाटै पक्राउ गरेको छ । ती जुवाडेबाट झण्डै १३ लाख रुपैयाँ समेत जफत गरिएको छ ।


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीका अनुसार एक वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानबाट उक्त संख्यामा जुवाडे प्रहरीको फन्दामा परेका हुन् । उनीहरुको साथबाट १२ लाख ९६ हजार ३ सय ९७ रुपैयाँ बरामद गरिएको उनले बताए । १८ जना विरुद्ध मुद्दा चलाइएको प्रहरीले जनाएको छ । जुवातास खेल्ने खेलाउने कार्यलाई कानुनले अपराधमा राखेको छ । नयाँ अपराध संहिता लागु हुनु अगाडि सजायको व्यवस्था निकै कम भएको र त्यसले जुवातास नियन्त्रण नहुने धेरैको मत थियो ।
जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलो पटक पक्राउ परे २ सय रुपैयाँ जरिबाना र दोस्रो पटकदेखि भने बढीमा ९ महिना कैदको व्यवस्था थियो । तर २०७५ साल भदौदेखि लागु भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजाय बढाइएको छ । उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था छ ।

दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना तोकिएको छ । दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप ३ महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नुपर्ने व्यवस्था छ । जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पुर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ । तर जुवा खेलेको घर वा कोठा वा ठाउँ वा सवारीसाधन भने जफत हुँदैन ।

कञ्चनपुर प्रहरीले काठ तस्करीमा संलग्न ८ जनालाई पनि पक्राउ गरेको छ । उनीहरूको साथबाट सातवटा सवारीसाधन, २० लाख ८ हजार ६ सय १७ रुपैयाँबराबरको ५ सय ८४ क्युफिट काठ बरामद गरेको छ । सो अवधिसम्म प्रहरीले नदीजन्य पदार्थको दोहन गर्ने ५२ जना, पाँच टिपर, ४६ ट्याक्टर गरेर उनीहरूबाट १३ लाख ८७ हजार ५ सय राजस्व संकलन गरेको छ । कञ्चनपुर प्रहरीले आर्थिक वर्ष २०८०/८१ मा ६ करोड ३७ लाख ८५ हजार ५ सय १९ रुपैयाँबराबरको अवैध सामान बरामद गरेर भन्सार चलान समेत गरेको छ ।

