सुदूरपश्चिम प्रदेशका मुख्य सचिव नारायण प्रसाद शर्मा दुवाडीको कार्यकालमै गर्नु पर्ने २ वटा काम गर्न नसकिएको अर्थमन्त्री नरेश कुमार शाहीले बताएका छन् । मुख्य सचिवको बिदाइ कार्यक्रममा बोल्दै मन्त्री शाहीले प्रदेशको विकास ऐन र कर्मचारी नियमावली निर्माण गर्न नसकिएको बताएका हुन ।
“प्रदेशको विकास ऐन बनाउन सकियो भने धेरै कुरा ट्र्याकमा आउँथ्यो जस्तो लाग्छ । हुन त अरू सचिव ज्यूहरूले नसक्ने भनेको चाहिँ होइन । अन्यथा नलागोस् । उहाँ सचिव ज्यूको जुन तहको बुझाई थियो, उहाँसँग काम गर्दा जुन सहजता थियो । त्यस कारण पनि यो ऐन उहाँकै पालामा बन्नु पर्थ्यो जस्तो लाग्छ ।” मन्त्री शाहीले भने । उनले अघि थपे,… “अर्को भनेको कर्मचारी नियमावली, यो नियमावली चाहिँ अहिलेका प्रमुख सचिव ज्यू हुँदा टुङ्ग्याउन नसकिने कुरा अरू हुँदा चाहिँ झन् समस्या हुन्छ की जस्तो लाग्छ । यद्धपी यी विषयहरू अन्य फोरमहरूमा छलफल त गरौँला नै ।”
साथै उनले आशावादी र सकारात्मक सोच हुने थोरै मानिस मध्ये प्रमुख सचिव दुवाडी पनि भएको उल्लेख गरे । उनको लगनशीलता र कार्यकुशलता सधैँ उच्च तहमा रहने बताउँदै यो प्रदेशको विकास र समृद्धिका लागी सबैले सँग–सँगै हातेमालो गर्न आवश्यक रहेको समेत बताएका छन् ।