
कैलालीको घोडाघोडी नगरपालिकाले आगलागीमा परी घर क्षति भएको परिवारलाई राहत वितरण गरेको छ । वडा नम्बर ४ गैडाखेडा बग्धैरा टोल गाउँमा चुलो बाट सल्केर आगलागी भएको परिवारलाई राहत वितरण गरिएको हो । नगर प्रमुख खडक बहादुर रावत, वडा नम्बर ४ का वडा अध्यक्ष भरत बहादुर शाही र वडा सदस्यहरू सहितको टोली राहत सामाग्री लिएर बग्धैरा पीडित परिवारको घरमा पुगेको थियो ।

आगलागीमा परी घर क्षति भएका मान बहादुर खड्काको परिवारलाई त्रिपाल, चामल, दाल, तेल, नुन, चिनी, आटा, बल्याङ्केट र खाना बनाउने भाँडाकुँडी सामाग्रीहरू वितरण गरिएको छ । घटना प्रति नगर प्रमुख रावतले दुख व्यक्त गर्दै पोलेको घाउमा पालिकाले मलम लगाउने काम गरेको बताए ।
बिहीबार साँझ ६ बजे तिर घरको खाना बनाउने चुलो बाट आगो सल्केर मान बहादुर खड्काको घरमा आगलागी भएको थियो । स्थानीयहरूले आगोलाई नियन्त्रणमा लिएका थिए । आगलागी हुँदा खड्काको घर पूर्ण रूपमा क्षति भएको छ । आगलागीबाट घरमा भएको खाद्यान्न लगायत सम्पूर्ण सामाग्री जलेर नष्ट भएको र करिब ५ लाख बराबरको क्षति भएको बताइएको छ ।
