
कैलालीको बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरी स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत राष्ट्रिय निर्देशन समितिको सदस्यमा मनोनीत भएका छन् । सङ्घीय मन्त्री स्तरको असार १० गतेको निर्णय अनुसार उनलाई मनोनीत गरिएको हो ।
प्रादेशिक तथा स्थानीय तहहरूको क्षमता अभिवृद्धि गरि सेवा प्रवाह र विकास व्यवस्थापनलाई प्रभावकारी बनाउन आर्थिक वर्ष २०७६/०७७ देखि नै स्थानीय शासन सहयोग कार्यक्रम सञ्चालनमा आएको छ । प्रदेश तथा स्थानीय शासन प्रणाली एवं अन्तर सरकारी सम्बन्ध सुदृढ गरी सहकारी सङ्घीयताका लाभहरू अभिवृद्धि गराउने कार्यक्रमको लक्ष्य रहेको बताइएको छ ।
स्थानीय शासन सहयोग कार्यक्रमलाई निर्देशित गर्दै थप प्रभावकारी बनाउन हाल सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीको संयोजकत्वमा राष्ट्रिय निर्देशक समितिले काम गरिरहेको छ । सोही समितिको सदस्यमा उपाध्यक्ष गिरीलाई मनोनीत गरिएको हो ।
मनोनीत भएपछि गिरीले प्रदेश तथा स्थानीय तहहरूको क्षमता विकास अभिवृद्धि सँगै प्रभावकारी विकासमा जोड दिने बताएका छन् ।






प्रकाशित :- २०८१ असार १३, गते बिहीबार