कैलालीको बर्दगोरिया गाउँपालिकाका नव नियुक्त प्रधानाध्यापकहरूले कार्यभार सम्हालेका छन् । १७ सामुदायिक विद्यालय रहेको गाउँपालिकामा पहिलो चारणमा आवेदन दिएका मध्ये ८ जना छनौट भएका थिए ।
नवनियुक्त प्र.अ. तारा प्रसाद जोशीले आइतबार बौनियामा रहेको वसन्त मुरारी नमुना मा.वि.को प्र.अ.को जिम्मेवारी सम्हालेका छन् । यस अघि उनी सुन्दरपुरमा रहेको मा.वि. कोटातुल्सीपुरका प्र.अ. थिए । भने वसन्त मुरारी नमुना मा.वि.को प्र.अ.को जिम्मेवारी यस अघि भूमि प्रकाश बमले सम्हालेका थिए । यस्तै महुन्याल मा.वि. बासकोटीको प्र.अ.को जिम्मेवारी चन्द्रिका जोशीले सम्हालेकी छन् । यस अघि पनि उनी सोही विद्यालयकी प्र.अ. हुन ।
यता बालकन्या मा.वि. कट्टीपुरमा प्र.अ.को जिम्मेवारी सुशीला कुँवरले सम्हालेकी छन् । यस अघि उनी सोही विद्यालयकी शिक्षिका थिइन । सो विद्यालयको प्र.अ.को जिम्मेवारी भूमि प्रसाद शर्मा जैशीले सम्हाल्दै आएका थिए । उता जगदम्भिके भगवती मा.वि.खैरेनीको प्र.अ.को जिम्मेवारी दिलराज गौतमले सम्हालेका छन् । यस अघि उनी सोही विद्यालयका शिक्षक हुन भने प्र.अ.को जिम्मेवारी नेत्र प्रसाद खड्काले सम्हालेका थिए । पालिकाको वडा नम्बर ५ कोइलीभुरुवमा रहेको जनता आ.वि.को प्र.अ.को जिम्मेवारी सन्तराम चौधरीले सम्हालेका छन् । उनी यस अघि सोही विद्यालयका शिक्षक हुन । त्यस विद्यालयको प्र.अ.को जिम्मेवारी यस अघि रामचन्द्र कुश्मीले सम्हालेका थिए ।
बर्दगोरिया गाउँपालिकाको शिक्षा शाखाका अनुसार छनौट भएका ८ मध्ये ५ जनाले पत्र बुझेका छन् । अन्य ३ जनाले भने पत्र बुझ्न बाँकी नै छ । अन्यमा कालिका मा.वि. नौनियाकी मुना पौडेल, नारायण आ.वि. बेलुवाका सुरेन्द्र प्रकाश जैसी र मोहन्याल आ.वि.सुगरखालमा सकोस कुमार डगौरा छन् ।
गाउँपालिकाले आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७९ तथा नियमावली २०८० को परिच्छेद ८ नियम २८ बमोजिम खुल्ला प्रतिस्पर्धाबाट प्र.अ. छनौट गर्ने कार्य जारी नै छ । पहिलो चरणमा आवेदन नपरेका बाँकी ९ विद्यालयका लागी पालिकाले पुनः दरखास्त आह्वान गर्दै सूचना सार्वजनिक गरेको छ ।